पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक सम्मानित- उपत्यका - कान्तिपुर समाचार

पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आबद्ध १२ संस्थाका संस्थापक अध्यक्षलाई सम्मान गरेको छ । विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्‍याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षलाई सम्मान गरेको हो ।

संस्थापक अध्यक्ष चलचित्र समीक्षक समाज नेपालका रमण घिमिरे, दक्षिण एसियाली खेलकुद पत्रकार संघका स्व. ईश्वरमान सिंह, पत्रकारिता अनुसन्धान तथा तालिम समाजका श्री आचार्य, एभरेस्ट प्रेस क्लबका शिवप्रसाद खड्का, नेपाल पत्रकार मञ्चका वैकुण्ठप्रसाद भण्डारी, कार्टुनिष्ट क्लब नेपालका अशोकमान सिंह, नेपाल चलचित्र पत्रकार संघका भरत शाक्य, पर्यटन पत्रकार मञ्चका विऽोही गिरीलाई सम्मान गरिएको थियो।

यसैगरी अनलाइन पत्रकार संघ नेपालका केपी ढुंगाना, नेपाल खेलकुद पत्रकार मञ्चका सीताराम अग्रहरी, फोटो जर्नालिष्ट क्लबका चन्द्रशेखर कार्की र पत्रकारिता विकास समाजका केदार खड्कालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका गोविन्द आचार्यले अग्रजको सम्मान गर्ने परम्पराको सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

उनले महासंघ निर्वाचनमार्फत नयाँ नेतृत्वको चयनको चरणमा प्रवेश गरिसकेको भन्दै निर्वाचनको समयमा जुन विचार समूहबाट उम्मेदवार बने पनि नेतृत्वमा पुगेपछि उनीहरूसँगै लड्ने साहस बोक्नुपर्ने बताए। निर्वाचनको बेलामा वैचारिक आधारमा प्रतिस्पर्धा गरिए पनि निर्वाचित भएपछि महासंघको उद्देश्यमा क्रियाशिल हुनुको अर्को विकल्प नहुने भन्दै उनले भने, ‘निर्वाचनको बेला जसको टिकट लिएर निर्वाचित भए पनि त्यसपछि प्रेस स्वतन्त्रता र श्रमजीवीको हक रक्षाका लागि तीनै टिकट दिने विरुद्ध उभिन सक्नेले मात्र महासाघको नेतृत्वमा जाने अभ्यास गर्नुहोला ।’

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पहिलो पटक महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको र अबको निर्वाचन हिजोको जस्तो कुनै समूह विशेषको मात्र दबदबा हुन नसक्ने बताए । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले महासंघको निर्वाचनै हुन नदिने खेल भइरहेकाले सबै पत्रकार एक ठाउँमा उभिएर त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।

एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानाले महासंघको निर्वाचनमा दलगत निकटताभन्दा सञ्चारकर्मीले विवेक प्रयोग गरे महासंघको नेतृत्वमा आउन बालुवाटार, पेरिसडाँडा र बुढानीलकण्ठ धाउने काम भोलीका दिनमा बन्द हुने बताए ।

एसोसिएट संस्थाहरुको तर्फबाट बोल्दै समिक्षक समाजका अध्यक्ष यज्ञशले महासंघमा विधागत प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिएका थिए । केवल निर्वाचनको बेलामा मात्र भेला गर्ने क्रम हटाउनुपर्नेमा उनको जोड थियो ।

सम्मानितको तर्फबाट बोल्दै रमण घिमिरेले महासंघलाई सञ्चारकर्मीको साझा थलो बनाउन जोड दिएका थिए ।

प्रकाशित : फाल्गुन २३, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्

रेल चलाउन कानुन पर्खिएको पर्खियै

रेल ल्याएको पाँच महिना बित्न लाग्दा पनि तोकिएन सञ्चालन मिति
विमल खतिवडा

काठमाडौँ — जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनको मिति अझै तय हुन सकेको छैन । भारतबाट रेल सेट ल्याएको पाँच महिना बितिसक्यो । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीका प्रतिनिधि कहिलेबाट रेल चल्छ भन्न सक्दैनन् ।

सुस्त तयारीले रेल सञ्चालन मिति तय हुन सकेको छैन । कहिले कर्मचारी पूरा भएपछि त कहिले भारतले निर्माण गरेका संरचना हस्तान्तरण गरेपछि रेल चलाउने भनेर घोषणा गरिए पनि ती कुनै कार्यान्वयनमा गएका छैनन् । अहिले आएर मन्त्रालयले रेलवेसम्बन्धी कानुनबिना रेल चलाउन नसकिने बताएको छ । रेलवेसम्बन्धी कानुन संसद्बाट पास नभएसम्म रेल सञ्चालनमा नआउने मन्त्रालयको भनाइ छ । रेलवेसम्बन्धी कानुन पास भएको छैन । यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस भएको पनि एक वर्ष भइसकेको छ ।

प्रतिनिधिसभा विघटन भएपछि विधेयक पास नहुने देखिएपछि मन्त्रालयले अध्यादेशमार्फत कानुन ल्याएर रेल चलाउने तयारी गर्दै थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि भने विधेयक पास भएर कानुन बनेपछि मात्र रेल चलाउने मन्त्रालयले जनाएको छ । पहिले रेलवे कम्पनीले पनि कानुन अभावमा रेल सञ्चालनमा तत्काल बाधा नपुग्ने दाबी गर्दै आएको थियो । अहिले भने कम्पनीकै महाप्रबन्धक गुरु भट्टराईले कानुन नबनी रेल चलाउन नसकिने बताउन थालेका छन् । कानुन र कर्मचारीबिना हतारमा रेल ल्याइँदा थन्क्याएर राख्नुको विकल्प नभएको मन्त्रालयका एक कर्मचारीले बताए । गत असोजमा ल्याइएका दुई रेल सेट जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको बेसक्याम्पअघि पालले छोपेर राखिएको छ । भारत सरकारबाट निर्माण भएका संरचना पनि अझै हस्तान्तरण भएका छैनन् । जयनगर–जनकपुर–कुर्था खण्डको ३५ किमि दूरीमा चल्ने गरी रेल ल्याइएको हो ।

रेल चल्ने मिति पटकपटक सर्दै आएको छ । तयारी पूरा भए गत पुस अन्तिमसम्म रेल सञ्चालनमा ल्याइने कम्पनीको भनाइ थियो । फागुन सकिन लाग्दा पनि अझै सञ्चालनको अत्तोपत्तो छैन । कम्पनीका महाप्रबन्धक भट्टराईले पनि दसैंलगत्तै रेल चलाउने दाबी गरेका थिए । पछि छठपछि भनियो । त्यसपछि कर्मचारी भए पुस ४ गते विवाहपञ्चमीबाट चलाउने घोषणा गरियो । अहिले आएर सञ्चालनमै अन्योल थपिएको छ । रेल सञ्चालन गर्न कानुन आवश्यक रहेको भौतिक मन्त्रालयका प्रवक्ता दीपककुमार भट्टराई बताउँछन् । ‘कानुन विधेयकका रूपमा संसद्मा पेस भएको छ,’ उनले भने, ‘अब संसद्बाट कानुन पास भएको भोलिपल्टै रेल चलाउन समस्या छैन ।’ तर उनले भने जस्तो तुरुन्तै विधेयक पास हुने अवस्था छैन । संसद् सुरु भए पनि पहिलो प्राथमिकतामा रेलसम्बन्धी विधेयक होला भन्न सकिन्न ।

अर्कोतिर रेलका लागि अझै जनशक्ति राखिएको छैन । तर मन्त्रालय भने यसमा समस्या नरहेको दाबी गर्छ । ‘जनशक्तिमा पनि समस्या छैन, आवश्यक मात्रामा करारमा राख्छौं, भारत सरकारबाट २६ जना प्राविधिक कर्मचारी उपलब्ध गराउने सहमति भइसकेको छ,’ भट्टराईले भने, ‘त्यसैले कानुन आएपछि रेल चलाउन समस्या हुन्न ।’ संसद् सुरु भएपछि कानुन पास हुने आशामा रहेको महाप्रबन्धक भट्टराई बताउँछन् । अरू तयारी सबै सकिएको उनको भनाइ छ । रेलका लागि १ सय ७५ जना नेपाली र २६ जना भारतीय कर्मचारी हुने उनले बताए । भारतले बनाएका संरचना हस्तान्तरणमा पनि समस्या नरहेको उनको दाबी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ४० जना निजामती कर्मचारी काजमा ल्याउने तयारी छ ।

साथै रेलवे कम्पनीमा पहिला काम गरी अवकाश पाएका र अस्थायी रूपमा काम गरी छाडेका ६० जना कर्मचारीलाई पनि दैनिक ज्यालादारीमा राख्ने तयारी छ । अहिले कम्पनीमा भने १२ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालय सहयोगी, स्विपरलगायत कर्मचारी स्थानीयस्तरबाटै लिइने भट्टराईले जानकारी दिए ।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिएर रेल सेट निर्माण गर्न लगाएको हो । उक्त रकमको ५ प्रतिशत धरौटीका रूपमा राखिएको छ । अन्य रकम भने भुक्तानी गरिसकिएको छ । रेल नचलाउँदासम्म कोंकणकै प्राविधिकले प्राविधिक जाँचको काम हेरिरहेका छन् ।

प्रकाशित : फाल्गुन २३, २०७७ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×