कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जिपको ठक्करबाट छात्राको मृत्यु

नियतवश सवारी ‘ब्याक’ गरेर मारेको मृतकका आफन्तको आरोप, चालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन माग गर्दै शिक्षक–विद्यार्थीद्वारा प्रदर्शन
प्रशान्त माली

ललितपुर — क्याम्पस जाने क्रममा जिप (सुमो) ले ठक्कर दिँदा १९ वर्षीया एक छात्राको मृत्यु भएको छ । बुधबार बिहान साढे ५ बजेतिर खोटाङ जाने यात्रु लिन बल्खुबाट एकान्तकुना आउँदै गरेको स१ज ५६७ नम्बरको जिपले कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा पढ्ने सिन्धुपाल्चोककी अञ्जु दाहाललाई नख्खु, बागडोलमा ठक्कर दिएको थियो ।

दुर्घटनापछि अञ्जुलाई पाटन अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ‘जिपको पछाडिको चक्काले छोरीको टाउकोमा किचेको स्पष्ट देखिन्छ । यसबाट नियतवश गाडी ब्याक गरेर मारेको पुष्टि हुन्छ,’ अञ्जुका काका केशर दाहालले भने । उनले चालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन माग गरे ।

घटनापछि दोषीलाई कारबाहीको माग गर्दै क्याम्पसका विद्यार्थी र शिक्षकले जावलाखेलमा विरोध प्रदर्शन गरेका थिए । यातायात व्यवसायी, शिक्षक र मृतकका आफन्तबीच महानगरीय प्रहरी परिसर जावलाखेलमा वार्ता भए पनि निष्कर्ष निस्किएन । घटनाका दोषीलाई सामान्य कारबाही र क्षतिपूर्ति दिएर उम्काउन खोजिएकाले उक्त कुरा आफूहरूलाई मान्य नहुने क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले बताए । ‘दोषीमाथि कडा कारबाही र मृतकका आफन्तलाई उचित क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘प्रहरीले पनि सत्यतथ्यलाई बंग्याउन कोसिस नगरोस् ।’

प्रहरीले जिप चालक खोटाङ घर भई चाबहिल बस्ने प्रविन गिरीलाई पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालेको जनाएको छ । परिसर प्रवक्ता प्रज्वल महर्जनले घटनाको सूक्ष्म अध्ययन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘प्रत्यक्षदर्शी यात्रुको बयान लिने क्रममा छौं,’ उनले भने । मृतक अञ्जुका आमाबुबा छैनन् । उनी बागडोलस्थित होस्टलमा बस्दै आइरहेकी थिइन् ।

प्रकाशित : फाल्गुन १९, २०७७ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?