कीर्तिपुरका बसमा मेट्रो कार्ड- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कीर्तिपुरका बसमा मेट्रो कार्ड

पहिलो चरणमा ५० र १ सय रुपैयाँ रिर्चाजसहित दुई सय वटा कार्ड निःशुल्क वितरण
कान्तिपुर संवाददाता

काठमाडौँ — कीपु बस सेवा कम्पनीले कीर्तिपुर नगरपालिकासँगको समन्वयमा मेट्रो कार्ड अर्थात् डिजिटल पेमेन्ट स्किम ल्याएको छ ।

कार्ड लागू भएसँगै यात्रु ठगिन, बिल, खुद्रा पैसा फिर्ता नपाउने, चालक सहचालकसँग हुन सक्ने विवादलगायत समस्या समाधान भएको कम्पनीले बताएको छ । कार्ड उपत्यकाका तीनै जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातमा क्रमशः लागू गर्दै जाने योजना रहेको कम्पनीका व्यवस्थापक महेश्वर महर्जनले जानकारी दिए । ‘उक्त कार्ड वृद्धभत्ता वितरणलगायत बहुमुखी प्रयोजनमा ल्याउने पनि योजनामा छौं,’ उनले भने ।

कम्पनीले पहिलो चरणमा ५० र १ सय रुपैयाँ रिर्चाजसहित दुई सय वटा कार्ड निःशुल्क वितरण गरेको छ । दोस्रो चरणमा थप वितरण गर्दै जाने कम्पनीको योजना छ । कार्ड सामान्य, विद्यार्थी र ज्येष्ठ नागरिक तथा असक्तता भएका व्यक्तिलाई लक्ष्य गरी बनाइएको छ । विद्यार्थी र ज्येष्ठ नागरिकले यात्रा गर्दा राज्यले दिएको सुविधा कार्डमा समावेश गरिएको कम्पनीले बताएको छ ।

यातायातलाई थप व्यवस्थित बनाउन खाल्डाखुल्डी पुर्ने र सडक विस्तार गर्ने कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रतिबद्धता जनाए । ‘कार्डले चुवाहट नियन्त्रण गर्न पनि मद्दत गर्नेछ,’ उनले भने । कीर्तिपुर क्षेत्रमा दैनिक १ सय ७५ वटा सार्वजनिक यातायातबाट २० हजारभन्दा बढी यात्रु ओहोरदोहोर गर्छन् । कार्डका लागि कम्पनीले पहिलो चरणमा २५ लाख लगानी गरेको बताएको छ ।

प्रकाशित : फाल्गुन २, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

रानाथारू होमस्टेमा एक वर्षपछि पाहुना

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टे ११ महिनापछि सुरु भएको छ । कोरोना महामारीले लकडाउनसँगै बन्द भएको होमस्टे यसै सातादेखि पुनः सञ्चालन भएको हो । 

रानाथारू समुदायको संस्कृति, रहनसहन र खानपानको आनन्द लिन सकिने होमस्टे सुरु भएपछि पाहुनाहरू पनि आउन थालेका छन् । अहिले यहाँ नेचर गाइडको तालिम चलिरहेको छ । तालिममा सहभागी २५ जना होमस्टेमै बसेका छन् । ‘होमस्टे बन्द हुँदा बेरोजगार थियौं, घर खर्च चलाउन समस्या भइरहेको थियो,’ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम रानाले भने, ‘अब थोरै भए पनि राहत हुनेछ ।’ उनका अनुसार होमस्टेकै भरमा रहेका परिवारलाई झनै समस्या थियो । होमस्टेबाट एउटा परिवारले वर्षमा एक–डेढ लाखसम्म आम्दानी गर्ने उनले बताए ।

२०७३ देखि सुरु भएको होमस्टेमा वर्षमा डेढ–दुई हजारको संख्यामा पर्यटक आउँथे । घरमै उत्पादित तरकारीदेखि कुखुरा होमस्टेमा खपत हुँदै आएको थियो । ‘लकडाउनले बाहिर काम पाइएन, घरमै भएको रोजगारी पनि खोसियो,’ समितिका सचिव चेतराम रानाले भने, ‘लकडाउनमा त उत्पादन भएको तरकारी पनि बेच्न पाइएन ।’ कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ र १६ मा पर्ने नयाँ कटानका रानाथारू समुदायका हरेक घरमा तरकारी खेती हुन्छ । होमस्टेमा प्रयोग गरेर बचेको तरकारी बेच्न उनीहरू आफैं बजार पुग्छन् ।

यहाँका आठ परिवारले होमस्टे चलाएका छन् । हरेक घरमा दुईदुई कोठामा चारचार जना पाहुना राख्न सकिने अध्यक्ष रानाले जानकारी दिए । उनका अनुसार गत वर्ष नै होमस्टेका कच्ची घरहरू भत्काएर पक्की बनाइएको थियो । लगत्तै लकडाउन सुरु भएपछि ऋण तिर्नसमेत समस्या भएको अध्यक्ष रानाले बताए । शुक्लाफाँटामा पनि लामो समय पर्यटकको आवागमन बन्द भएको थियो । पछिल्लो समय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । होमस्टेमा रानाथारूको परम्परागत पहिरनसँगै कला, संस्कृति पनि हेर्न पाइन्छ ।

पछिल्लो समय मौलिक पोसाकहरू लोप हुँदै गएपछि सामुदायिक भवनमा पाहुनालाई देखाउन पोसाक राखिएका छन् । यसैगरी सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् । ‘पर्यटकहरू हाम्रो संस्कृति र पहिरन हेर्न पनि आउने गरेका छन्,’ होमस्टे सञ्चालक समिति सदस्यसमेत रहेकी भीमदत्त नगरपालिकाको पर्यटन समिति सदस्य वसन्ती रानाले भनिन्, ‘होमस्टेले आम्दानी मात्रै होइन, हाम्रो संस्कृति संरक्षणमा पनि सहयोग पुगेको छ ।’

प्रकाशित : फाल्गुन २, २०७७ ०६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×