काठमाडौं महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति- उपत्यका - कान्तिपुर समाचार

काठमाडौं महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

रासस

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले दस महिनापछि मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण चैत ७ देखि बन्द रहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो ।  

फाइल तस्बिर

कामपाको आइतबार बसेको शिक्षा समिति बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए ।

गत मंसिर पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिक रूपमा मात्र सञ्चालन भएका थिए । बैठकले बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इन्जिनियरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इन्जिनियरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ । यो कक्षा ९ देखि १२ को कार्यक्रम हो ।

अनुमति दिइएका विद्यालयलाई कामपाले ५० लाख रुपैयाँ अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ । बैठकले नेपालभाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी वडा नं २६ सामाखुसीमा रहेको हार्मोनी मन्टेस्सोरी इलिमेन्ट्री स्कुललाई वडा नं ६ मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेसन फाउन्डेसन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कुल कायम गर्ने निर्णय पनि गरेको छ । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय छन् ।

प्रकाशित : माघ १२, २०७७ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

एक सातामै उप्कियो कालोपत्र

वसन्तप्रताप सिंह

बझाङ — जयपृथ्वी राजमार्गमा बिछ्याइएको कालोपत्र सात दिन नपुग्दै उप्किन थालेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्रै सडकमा गुणस्तरहीन काम भएको भन्दै विरोधसमेत सुरु भएको छ ।

जयपृथ्वी राजमार्गको सिमखेतमा उप्किएको कालोपत्र हेर्दै स्थानीय । केही दिन पहिले मात्रै यहाँ कालोपत्र गरिएको थियो । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर


कालोपत्र उप्किएको राजमार्गको तमैल–भोपुर खण्डको मर्मत तथा स्तरोन्नतिको काम जलजला निर्माण सेवाले गरिरहेको छ । ‘पिच गरेजस्तो मात्रै गरेर छोडेका रहेछन्,’ उक्त खण्डमा गाडी चलाउने विक्रम थापाले भने, ‘सात दिन पनि नपुग्दै सबै उप्किसक्यो । सडक पहिलाकै जस्तो भइसक्यो ।’

सदरमुकाम चैनपुरनजिकै गुणस्तरहीन काम गरिएकामा सम्बन्धित सरकारी निकायले चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन् । ‘नत्र जिल्लाको केन्द्रमै रहेको सडकमा दिउँसै यस्तो गर्ने आँट ठेकेदारले कसरी गर्न सक्छ ?’ जयपृथ्वी नगरपालिका–७ का जीवन सिंहले भने, ‘यही बाटो भएर दिनदिनै नेता र हाकिमहरू हिँड्छन् । हिजो गरिएको पिच आज उप्किएको देख्दादेख्दै पनि आँखा चिम्लेका छन् ।’

सडक निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै केही युवा र विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् । स्थानीयले पनि विरोध गरेपछि प्रशासन कार्यालयले सडक डिभिजन कार्यालयलाई तत्काल छानबिन गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि निर्माणस्थल पुगेको सडक कार्यालयको टोलीले पनि कालोपत्रे गर्ने क्रममा निर्माण कम्पनीले कमजोरी गरेको भेटाएको इन्जिनियर बर्खबहादुर कठायतले बताए ।

‘पिच गर्ने क्रममा लापरबाही गरेको भेटिएकाले तत्काल पहिला गरेको पिच उप्काएर अर्को पिच हाल्न हामीले ठेकेदारलाई निर्देशन दिएका छौं । नसुधारेसम्म अर्को काम नगर्नू भनेका छौं,’ उनले भने । निर्देशन अटेर गरे निर्माण कम्पनीलाई कारबाही हुने उनले बताए । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पनि निर्माणमा लापरबाही गरेको पाइए कारबाही गरिने स्पष्ट पारे । ‘धेरै गुनासो आएपछि हामीले डिभिजन सडकलाई सुधार्नुस् भनेका छौं । हामी पनि अनुगमन गर्दै छौं । अब पनि गल्ती गरेको पाइए कारबाहीको पहल गर्नेछौं,’ उनले भने ।

बैतडीको खोड्पेदेखि बझाङको चैनपुरसम्मको १०८ किलोमिटर लामो यो सडक २०७० मा ओटासिल प्रविधिबाट कालोपत्र गरिएको थियो । कालोपत्र गरेको केही समयपछि नै सडक भत्किएपछि गत वर्षबाट मर्मत सुरु गरिएको थियो । जसअनुसार सडक कालोपत्र, आरसीसी ढलान, नाली निर्माण, घुम्तीहरू चौडा पार्ने र पर्खाल निर्माणको जिम्मा तीनवटा निर्माण कम्पनीहरूलाई दिइएको छ ।

सडकलाई तीन खण्डमा छुट्याई जलजला, जागृति निर्माण सेवा र ग्वाल्लेक निर्माण कम्पनीले काम गरिरहेका छन् । चालु वर्षमा सकिने गरी करिब २० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । जिल्लाको एक मात्रै राजमार्गको दुरवस्थाका कारण यात्रा कष्टपूर्ण हुनुका साथै दुर्घटनासमेत बढेपछि सरकारले सडक मर्मत थालेको हो ।

प्रकाशित : माघ १२, २०७७ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×