१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाइलटले सफा गरे चन्द्रागिरि पदयात्रा ट्रेल

काठमाडौँ — कोरोना महामारीका बेला उद्धार उडानमा व्यस्त बनेका नेपाल वायुसेवा निगमका पाइलट, क्याबिन क्रू, इन्जिनियर, फ्लाइट डिस्प्याचर लगायतका उड्डयनकर्मी शनिबार एकाएक थानकोटदेखि भालेश्वर मन्दिर जोड्ने शताब्दी पुरानो चन्द्रागिरि पदमार्ग सफाइमा उत्रिए ।

पाइलटले सफा गरे चन्द्रागिरि पदयात्रा ट्रेल

उक्त सफाइ अभियानमा अघिल्लो दिन मात्रै रिहादबाट काठमाडौं उडान भरेर आएका क्याप्टेन दिपुराज जुर्हाचनदेखि दुबईबाट फर्केक क्याबिन अटेन्डेन्ट अनिश डंगोलसम्म थिए । हाल नियमित उडानको संख्या अत्यधिक नभएका कारण फुर्सदिला बनेका निगमको अपरेसन विभागमातहतका एयरहोस्टेस, इन्जिनियर, फ्लाइट डिस्प्याचर पनि यसमा सामेल भए ।

मेडिकल माक्स र पन्जा लगाई हातहातमा प्लास्टिकका झोला लिएका उनीहरू १४ सय मिटर उचाइको थानकोटको फेदबाट सफाइ सुरु गर्दै झन्डै पाँच घण्टापछि २५ दिउँसो साढे ४ बजे २५ सय मिटर उडाइको चन्द्रागिरि डाँडामा पुगेका थिए ।

त्यहाँ पुग्दासम्म नौवटा प्लास्टिक झोला भरे । ‘झन्डै दुई क्विन्टल हाराहारी फोहोर पदमार्गबाट उठायौं,’ निगमको अपरेसन विभाग प्रमुख तथा सफाइ अभियानका संयोजक क्याप्टेन जुहार्चनले भने, ‘चकलेटका खोस्टादेखि मदिराका बोतलसम्म जताततै फालिएका रहेछन् ।’

उनका अनुसार उक्त रुटमा सबैभन्दा धेरै पदयात्रीले फालेका पानीका बोतल र फास्टफुड खाएर फालिएका प्लास्टिक धेरै भेटिए ।

डाँडामा बोकेर पुर्‍याइएको फोहोर निगमले चन्द्रागिरि हिल्स प्रालिलाई हस्तान्तरण गरेको थियो । उक्त फोहोरलाई व्यवस्थापन गर्न केबलबारबाट पुन थानकोटमा रहेको बेसस्टेसनमा झारिएको थियो ।

चन्द्रागिरिका महाप्रबन्धक अभिषेकविक्रम शाहले निगमका उड्डयनकर्मीले संस्थागत रूपमा गरेको सफाइ अभियान पहिलो पटक भएको बताए । ‘कोभिडका कारण सफाइ हुन सकेको थिएन । बेलाबेला हाम्रा कर्मचारीले यो रुट सफाइ गर्थे तर संस्थागत रूपमा निगम अघि कसैले सफाइ गरेको थिएन,’ शाहले भने ।

महाप्रबन्धक शाहका अनुसार सरकारकै सहयोगबाट नदी तथा हिमाल सफाइ अभियान सुनिए पनि यसरी उपत्यकाभित्र पदमार्ग नै उड्डयनकर्मीबाट सफाइ हुनुले संस्थागत रूपमा चेतना अभिवृद्धि भई कोरोनाका कारण घरभित्रै बस्न बाध्य मानिसहरू पदयात्रामा निस्किन उत्प्रेरित हुने, प्रकृति सफाइ हुने र अर्थतन्त्र तथा आन्तरिक पर्यटकलाई पनि चलायमान बनाउने ।

दुई जना चिकित्सकहरू पनि सहभागी रहेको यो अभियानमा चन्द्रागिरि हिल्सले पनि सहायत गरेको थियो ।

प्रकाशित : माघ ११, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?