कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भक्तपुरका चारवटै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्‍चालन गर्ने

लिला श्रेष्ठ

भक्तपुर — जिल्लाको चार वटै स्थानीय तहले आफ्नो नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय बालबालिकाको भौतिक उपस्थिती मै कक्षा सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण करिब १० महिनादेखि बन्द रहेका विद्यालयहरुले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरु सञ्चालन गरिरहेकोमा नगरबासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक/शिक्षिका, सञ्चालकलगायत सरोकारवालाहरुबाट प्राप्त राय सुझाव र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्न लागेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

जिल्लाको चाँगुनारायण नगरपालिकाले नगरक्षेत्र अन्तर्गतका विद्यालयहरु गत मंसिर ९ गतेबाट विद्यार्थीको भौतिक उपस्थितीमा नै कक्षा सञ्चालन गर्दै आएको छ भने भक्तपुर नगरपालिकाले पुस १ गतेबाट कक्षा ८, ९ र १० कक्षा सञ्चालन थालेको थियो । सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले माघ ४ (आइतबार) बाट विद्यार्थीको भौतिक उपस्थितीमा कक्षा सञ्चालनको तयारी गरेको छ । विद्यालय खुला गर्ने सन्दर्भमा नगरपालिकाले निर्णय गर्नुअघि नै शिक्षक, अभिभावक, विभिन्न शिक्षक संघ र विद्यार्थी प्रतिनिधिहरुसँग छलफल गरेको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक किरण थापाले बताए ।

मध्यपुर थिमि नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र वनका अनुसार ‘विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा–२०७७’ अनुसार विद्यार्थीको प्रत्यक्ष उपस्थितीमा स्वास्थ्य सम्बन्धि तोकिएका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी माघ ४ गतेबाट कक्षा सञ्चालन गरिने छ । कोभिड–१९ संक्रमितको संख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा नगरपालिका भरी सूचना जारीगरी कुनैपनि समयमा विद्यालय विद्यार्थीहरुको भौतिक उपस्थितीका रुपमा सञ्चालन गर्न बन्द गरिने समेत जनाएको छ ।

बुधबार नगरपालिकाको आठौं नगर सभाको उद्घाटन गर्दै भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले पुस १ गतेबाट ८,९ र १० कक्षाका विद्यार्थीको भौतिक उपस्थिती कक्षा सञ्चालन गरेको र माघ १ गतेबाट शिशु कक्षादेखि १० कक्षा सम्मकै कक्षा सञ्चालन गर्ने बताए । चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरअन्तर्गतका विद्यालयहरुले भौतिक दूरी कायम गर्दै, मास्क, स्यानिटाइजरको प्रयोग गरेर मंसिर ९ गतेबाट कक्षा सञ्चालन गरेको र हालसम्म कुनै स्वास्थ्य समस्या झेल्नु परेको छैन ।

विद्यालयका प्रधानाध्यापकहरुले भने नगरपालिकाले निर्णय गर्नुभन्दा अघिदेखि नै अभिभावकलाई बोलाएर बालबालिकालाई वर्कसिड पठाउने, भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । विद्यालयले विद्यार्थी कक्षा प्रवेश गर्नुअघि ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने र मास्कलाई अनिवार्य गराएको जनाएको छ ।

विद्यालयले विद्यालय बन्द भएको अवधिमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अनलाइन तथा भर्चअल कक्षा सञ्चालन गराएको भएपनि प्रभावकारी न्यून भएको सामूदायिक विद्यालयका शिक्षक/शिक्षिकाहरु बताउँछन् । ‘कतिपय अभिभावकसँग रेडियो/टेलिभिजन समेत नभएको पाइयो, फोन मात्र गर्न मिल्ने मोबाइल बोक्ने अभिभावकले कसरी बालबालिकालाई अनलाइन कक्षाको व्यवस्थापन गर्न सक्छ ?,’ विद्यार्थी निकेतन माविकी प्रधानाध्यापक जोशीले प्रतिप्रश्‍न गरिन्,‘अभिभावकको एउटै चाहाना जतिसक्दो छिटो विद्यालय खुलोस् भन्ने थियो ।’

अनलाइनमा उपस्थित नहुने विद्यार्थी र अभिभावकलाई विद्यालयमा उपस्थित गराएर सहजीकरण गर्ने, भौतिक दूरी कायम गर्न चौरमा राखेर कक्षा सञ्चालन गर्ने गरेको समेत उनले बताइन् । अभिभावकै सल्लाह र प्रतिबद्धता बमोजिम स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बालबालिकालाई भौतिक उपस्थितीमा कक्षा सञ्चालनको थालनी गरी सकेको पद्म माविका प्रधानाध्यापक राम हाडा बताउँछन् ।

प्रकाशित : पुस २९, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?