घरको रेलिङ बनाउने क्रममा खसेर मजदुरको मृत्यु



भक्तपुर — सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाईटमा घरको रेलिङ बनाउने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । स्थानीय गोविन्द राजकर्णिकारको साढे २ तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा खसेर सुर्यविनायक–५ का ४० वर्षीय ईश्वर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको दोस्रो तलाबाट खसेर सख्त घाइते भएका कार्कीलाई उपचारका लागि मध्यपुर अस्पताल नयाँथिमी पुर्याइएको र सम्बन्धित चिकित्सकले मृत्यु घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । प्रहरीका अनुसार रामेछाप मन्थली नगरपालिका–९ फुलासी घरभई सूर्यविनायक बस्ने राजन खड्काले उक्त घरको रेलिङको ठेक्का लिई मृतक कार्कीलाई काम लगाएका थिए ।