१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चाकु बनाउन चटारो

सुशीला तामा‌ङ

काठमाडौँ — चाकुका लागि नेपालमै प्रसिद्ध ठाउँ हो टोखा । माघे संक्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीहरुलाई अहिले चाकु बनाउने चटारोले छोपेको छ । मकर (माघे) संक्रान्तिमा घिउ, चाकु खाने प्रचलनका साथै जाडोयाममा शरीरलाई न्यानो र ऊर्जा दिने भएकोले यहाँका व्यवसायीहरु मसिंरदेखि माघ महिनासम्म चाकु बनाउन व्यस्त हुन्छन् ।

चाकु बनाउन चटारो

माघे संक्रान्ति आउनु केही दिनअघि नै बजारमा चाकु पर्‍याप्त मात्रामा पुराउनुपर्ने भएकाले मंसिर लाग्नासाथै बनाउन थालिने चाकु व्यवसायी बुद्ध श्रेष्ठले बताए । कोरोना महामारीका कारण यो वर्ष भने मध्य मंसिरपछि मात्रै चाकु बनाउन थालिएको उनले सुनाए । श्रेष्ठको ‘काशिलाल चाकु पोडक्सन’ ले अहिले दैनिक एक हजार किलो चाकु उत्पादन गरिरहेको छ । अन्य समयमा परिवारकै सदस्यहरुले चाकु बनाउने गरेपनि मसिंरदेखि माघसम्म भने व्यवसायीहरुले कामदार नै राखेर चाकु उत्पादन गर्छन् । उत्पादित चाकु प्रतिकेजी १२० देखि १३० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष चाकुको माग घटेकोले उत्पादन घटेको श्रेष्ठले सुनाए । उनले पछिल्लो २५ वर्षदेखि निरन्तर चाकु बनाइरहेका छन् । टोखा नगरसँग सांस्कृतिक, ऐतिहासिक र पम्परागत रुपमा चाकुको सम्बन्ध रहेकोले मौसमी काम भएपनि गर्दै आएको उनले बताए । ‘पूख्र्यौली काम र टोखाको इतिहासलाई जोगाउन हामीले चाकु बनाउँदै आएका छौं,’ उनले भने, ‘मेरो परिवारमा सबै दाजुभाइ यसमा लागेका छौं । यसरी लाग्ने हामी चौथो पुस्ता हो ।’

टोखामा हाल एक दर्जनभन्दा बढी चाकु बनाउने उद्योगहरु छन् । ती उद्योगमा सादा, स्पेसल, खुवा चाकु र सुत्केरीका लागि विशेष चाकुहरु बनाइन्छ । बदाम, किसमिसलगायत राखेर बनाइने स्पेसल तथा सुत्केरीका लागि हुने चाकु अर्डर अनुसार मात्र बनाइने श्रेठले बताए । नेवारी समुदायमा चाकुको सांस्कृतिक तथा धार्मिक महत्व रहिआएपनि हाल काठमाडौंभन्दा बाहिरका जिल्लाहरुमा पनि चाकुको माग बढ्दो रहेको अर्का चाकु व्यवसायी हंसराज श्रेष्ठले सुनाए । उनका अनुसार काभ्रे, सिन्धुपाल्चोक, दोलखा रसुवा, मनाङ लगायतका जिल्लाहरुमा हाल चाकु पठाइन्छ । यो वर्ष भने महामारीले गर्दा उपत्यकाभन्दा बाहिरका जिल्लाहरुमा त्यति माग नआएको उनले सुनाए । अहिले उनको ‘टोखा चाकु प्रोडक्सन उद्योग’ले दैनिक दुईदेखि तीन सय किलोको हारहारीमा मात्र उत्पादन गरिरहेको छ । अहिले चाकु उत्पादन मात्र गरेर वर्षभरी खान पुग्ने स्थिति नरहेको उनको भनाई छ । ‘दुई/तीन महिना चाकु बनाएर त्यही डेड/दुई लाख कमाइन्छ होला’ उनले भने ।

पहिले प्राचिन कालदेखि नै टोखामा उखु खेती हुने भएकोले त्यसैको रसबाट सखर बनाई चाकुको कच्चा पदार्थ बनाइने गरेपनि अहिले त्यो अवस्था नरहेको पुराना चाकु व्यवसायी काशिलाल श्रेष्ठ सुनाउँछन् । झण्डै ८० दशक छुन लागेका उनले टोखा नजिकै देखिने वरपर उखु खेतीको स्मरण गरे । उनका त्यतिखेर उखुको रसलाई माटोको भाडामा पकाएर सखर बनाइन्थ्यो र त्यसपछि चाकु बनाउने काम सुरु हुन्थ्यो । उनले भने,‘त्यतिखेर चाकुको डल्ला बोकेर असनतिर बेच्न गइन्थ्यो । अहिले जस्तो प्लास्टिकमा राखेर आकारप्रकार बनाउने चलन थिएन ।’ अहिले आधुनिक र गुणस्तरिय रुपमा चाकु उत्पादन गर्ने उद्योगहरु टोखामा स्थापना भएकोले उनी खुसी छन् ।

अहिले टोखामा चाकु उत्पादनको लागि तराईका जिल्लाहरुबाट प्रति किलो ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म मूल्यमा सखर ल्याइन्छ । सखरलाई डेढ दुई घण्टामा सम्म तामाको भाँडा (फोसी)मा पकाएपछि ५देखि १० मिनेट सेलाउन दिइन्छ । सेलाएपछि नरम बनाउन रातो रङमा परिणत नभएसम्म किलामा राखेर पकाएको सखरलाई रबर जस्तै तन्काइन्छ । त्यसपश्चात् मात्र चाकु बन्ने व्यवसायीहरु बताउँछन् ।

अहिले विभिन्न आकारप्रकारमा प्लाष्टिकमा हाली गुणस्तरिय चिन्हसहित बजारमा जाने ‘टोखा परम्परागत चाकु संरक्षण समाज’ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार टोखाको चाकुलाई नेपालभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्न समाजले ‘टोखा ट्र्याडिस्नल कन्जरभेसन सोसाइटी’ नामक ब्राण्ड स्थापना गरेको छ । हाल समाजले चाकुको निर्यात संसारभरी पुराउन र पुख्र्यौली पेसाका रुपमा चाकु उत्पादनलाई निरन्तरता दिँदै आइरहेको परिवारलाई प्रोत्साहन गरेको श्रेष्ठले बताए । नेपाल सरकारको मातहतको खाद्य तथा गुणस्तर विभागको समन्वय तथा निर्देशन अनुसार नै कच्चा पदार्थ, उत्पादन स्थल, मूल्य निर्धारण गरिएको उनको दावी छ ।

अबका पुस्तालाई चाकु उत्पादनको लागि निरन्तरता दिने हो भने उखु खेतीलाई प्रोत्साहन दिनुपर्ने व्यवसायीहरु बताउँछन् । आउँदो पुस्ताले चाकु बनाउन सखर नै नपाउने हो कि भन्ने चिन्ता टोखाका युवामा रहेको स्थानिय आशिष श्रेष्ठ सुनाउँछन् । ‘हामीलाई टोखाको इतिहासलाई जोगाउन मन छ’उनले भने,‘यदि उखु नै उत्पादन भएन भने चाकु बनाउने काम त त्यसै रोकिन्छ ।’

चाकुले जाडो मौसममा शरीरलाई ताप र शक्ति दिनुका साथै सांस्कृतिक तथा धार्मिक रुपमा महत्वपूर्ण रहेको युवा संस्कृतिविद् ओम धौभडेल बताउँछन् । उनका अनुसार बजारमा मिठाईहरु उत्पादन हुनुपूर्व मानिसहरुमा भगवानलाई चाकु दान गर्ने र चिनीका रुपमा शखर र चाकु नै प्रयोग गर्ने प्रचलन थियो । अझैपनि भगवान गणेशलाई चाकुमा बनाइएको तिलको लड्डु र नारायणलाई घिउ र चाकु दान गर्ने चलन रहेको उनले सुनाए । चाकुको महत्व बताउँदै उनी थप्छन्,‘नेवारी समुदायमा य:मरी बनाउँदा चाकु अनिवार्य रहन्छ । माघे संक्रान्तिमा घिउ चाकु खाने प्रचलन हाम्रो पुरानै हो ।’

प्रकाशित : पुस १८, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?