पाटन संग्रहालयको प्रदर्शन कक्ष साढे पाँच वर्षपछि खुल्दै
ललितपुर — ०७२ सालको भूकम्पयता बन्द रहेको पाटन संग्रहालयको प्रदर्शन कक्ष साढे पाँच वर्षपछि शुक्रबारबाट खुल्ने भएको छ । यसै अवसरमा पाटन दरबार क्षेत्र केशवनारायण चोकको पश्चिम मोहडामा रहेको कक्षमा संग्रहालयको संकलनमा रहेका एक सय वर्ष पुराना ३० वटा तस्बिरहरु प्रदर्शनीमा राख्न तयारी पूरा भएको संग्रहालयले जनाएको छ ।
भूकम्पको दुई महिनापछि संग्रहालय खुलेपनि गोल्डेन ढोकाको माथिल्लो तलामा रहेको दरबारको यो भाग भने बन्द थियो । यो कक्षमा सर्वसाधारणले पनि संग्रहालयसँग भाडामा लिएर आफ्ना संकलनमा रहेका तस्बिर तथा मूर्तिहरु प्रर्दशनमा राख्न सकिन्छ ।
पाटन संग्रहालय अधिकृत सुरेश लाखेका अनुसार पुरात्तात्विक महत्त्वको तस्बिर माघ १८ सम्म प्रदर्शनीमा राखिनेछ । ‘दोस्रो चरणमा काष्ठकला, धातुकला, प्रस्थरकलाका उमामेश्वर, विष्णु, विश्वेश्वरजस्ता देवीदेवताका मूर्तिहरु प्रदर्शनीमा राख्ने योजनामा छौ,’ उनले भने, ‘प्रदर्शनीले संग्रहालय अवलोकनमा आउने पर्यटकहरुले फरक चिजको अनुभव पाउन सकिन्छ ।’
प्रर्दशनीमा राख्न लागिएका पाटन दरबार क्षेत्रका एक सय वर्ष पुराना तस्बिरहरु ।
प्रदर्शनीमा राखिने तस्बिरहरुमा भीमफेंदीबाट उपत्यकामा गाडी बोकेर ल्याइरहेको, पाटन दरबार, हनुमानढोका दरबार, कालभैरव, धरहरा, बाघ दरबार, बौद्ध स्तुप र वर्ल्डफिल्डले सन् १८५३ मा बनाएको पाटन दरबार क्षेत्र भण्डारखाल बगैंचाको स्केचलगायत छन् ।
यी बाहेक पर्यटकले १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लका पालामा बनेको सुन्दरी चोक, हात्तीको दाँतबाट बनेको ऐतिहासिक झ्याल, माटोको भित्तामा बनाइएको पाटन सहरको चित्र, काठका ५ सय वटा शिव लिंग, ढुंगाका ७२ वटा छुट्टाछुट्टै शिवको मूर्ति, मूलचोक, काठमाडौदेखि गोसाइकुण्ड रुटको पौवाचित्रलगायत अवलोकन गर्न सकिन्छ ।
प्रकाशित : पुस ९, २०७७ १२:४०