२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चक्रपथ विस्तार गर्दा स्वयम्भूका संरचना नभत्काउन माग

गणेश राई

काठमाडौँ — विश्व सम्पदामा सूचिकृत ऐतिहासिक स्वयम्भू क्षेत्रको कुनै पनि भाग भत्काउन नहुने सरोकारवाला पक्षले माग गरेका छन् । ‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं’ अभियानले आइतबार राजधानीको स्वयम्भू परिसरमा पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएको हो । यो स्वयम्भू क्षेत्र काठमाडौं महानगरपालिका–१५ मा पर्दछ ।

चक्रपथ विस्तार गर्दा स्वयम्भूका संरचना नभत्काउन माग

सडक विभागले चक्रपथ विस्तारको क्रममा कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार जारी राखेको छ । ‘यस क्रममा विश्व सम्पदामा सूचिकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तूप (साङ्गे तोङ्कु)समेत भत्काउन गइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अभियानका संयोजक तथा बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रभित्र रहेका बुद्धका मूर्ति, हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बोधिचैत्यसहितको पर्खाल भत्काउने धार्मिक, सांस्कृतिक सम्पदा संरक्षण विरोधी कदम अविलम्ब रोक्न सरकार र सम्बन्धित निकायलाई विशेष आग्रह गर्दछौं ।’

विकासको गति अवरुद्ध हुन नदिने र बौद्धमार्गीहरूको धार्मिक सम्पदाको पनि संरक्षण हुने गरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक संरचना नभत्काइकन सडक विस्तार गर्नसमेत भनेका छन् । सरकारले तत्काल बेवास्ता गरेमा चरणवद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिनेसमेत भनेका छन् ।

महानगरपालिकाका प्रवक्ता तथा १५ वडाध्यक्ष ईश्वरमान डंगोलले सडक विस्तारको काम केन्द्रीय सरकार मातहत सडक विभागले गरेको बताए । ‘२०२८ सालमै सडक रेखांकन भएको हो,’ महानगर विश्व सम्पदाका हरेक स्थान संरक्षणको पक्षमा रहेको उल्लेख गर्दै प्रवक्ता डंगोलले भने, ‘सडक थप चौडा बनाइँदा एउटा स्तुप भत्किने देखिन्छ । त्यसलाई जोगाउनु पर्छ भन्ने उहाँहरू (संरक्षण अभियानता)को माग हो । हामी (महानगरपालिका) निर्णयकर्ता होइन । उहाँहरूको कुरा सरकारसम्म पुर्‍याएर समन्वय गर्छौं ।’

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, अभियानका सचिव तथा मनाङ सेवा समाजका अध्यक्ष सुनिल गुरुङलगायतले सम्पदा संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने बताएका थिए । उत्पन्न समस्या समाधानका निम्ति तत्काल छलफल, परामर्श गर्नसमेत माग गरेका छन् ।

प्रकाशित : मंसिर १४, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?