२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कात्तिक नाचमा यसपटक बराह र नृसिंह अवतार नाच मात्रै

प्रशान्त माली

ललितपुर — प्रसिद्ध कात्तिक नाच यस वर्ष बराह र नृसिंह अवतार नाच गरेर दुई दिन (शुक्रबार र शनिबार) मात्र देखाइने भएको छ । परम्परा अनुसार नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा एक महिना नचाइने चलन छ ।

कात्तिक नाचमा यसपटक बराह र नृसिंह अवतार नाच मात्रै

तर, कोभिड–१९ कारण महामारीका कारणले कात्तिक नाच संरक्षण समितिले छोट्याएको हो । समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले नाच राष्ट्र र जनताको कल्याणार्थका लागि सञ्चालन गरिने भएकाले रोक्न नमिल्ने बताए । ‘नाचको सृष्टि भएदेखि हालसम्म बन्द भएको छैन,’ उनले भने, ‘नाच स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य नीति मापदण्ड पुर्‍याएर सञ्चालन गरिनेछ ।’

उनका अनुसार नाच कलाकारहरुको उपस्थितिमा मात्र देखाइनेछ । ‘दर्शकहरुलाई अवलोकन गर्न निषेध गरिएको छ,’ उनले भने, ‘नाच नचाउन महानगर र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट स्वीकृति छ ।’

श्रीकृष्ण लिलामा आधारित नाच सिद्धि नरसिंह मल्लले नेपाल सम्वत ७६१ म सुरु गरेको थियो । सिद्धिनरसिंह मल्लले बराह र नरसिंह डबलीमा प्रर्दशन गर्ने गरि ८ दिन चलाए । उनका सुपुत्र श्रीनिवास मल्ले नेपाल सम्वत् ७८७ मा ७ दिन लोक नाटक ‘बा:थ: प्याँख’ थपेर १५ दिन पुर्‍याए । श्रीनिवास मल्लका सुपुत्र योगनरेन्द्र मल्लले माधवान र उषाहरण गरि १५ दिन थपेर कात्तिक महिनाभरि एक महिना चलाए । नाच २००६ सम्म एक महिना चलेको थियो । २००७ मा जनक्रान्तिले महिना दिन पूरा चलेन । २००८ देखि २०३७ सम्म बराह र नरसिंह अवतार नाच ३० वर्ष सम्म २/२ दिन मात्र चल्यो । कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष ८/८ दिन चल्यो । २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । समितिको यस वर्ष एक महिना सञ्चालन गर्ने लक्ष्य थियो ।

बराह अवतारमा हिरण्याक्षको बध र नृसिंहमा हिरण्यकश्यपुको बध गरिएको दृश्य देखाइन्छ । नृसिंह नाचमा कृष्ण मन्दिरका पुजारीले अभिनय गर्ने चलन छ । नाचले आफूसँग शक्ति हुँदैमा घमण्ड गर्न नहुने र शक्तिको सदुपयोग गर्नुपर्ने सन्देश दिन्छ । नाच नचाउन संस्कृति मन्त्रालयबाट छुट्याउँदै आएको बजेट २०७४ मा कटौती भएपछि सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । यस वर्ष नाचको संरक्षण प्रवद्र्धन गर्न ललितपुर महानगरपालिकाकाले ५० लाख र ललितपुर महानगर–१६ वडा कार्यालयबाट १० लाख रुपैयाँको अक्षय कोषको व्यवस्था गरेको छ । समितिको १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य छ । नाच सञ्चालन गर्न बिहीबार नाथेश्वर पूजा गरिएको थियो ।

प्रकाशित : मंसिर १२, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?