बल्खु खोलाको खोचमा साहसिक खेलसहितको पार्क बन्दै- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्खु खोलाको खोचमा साहसिक खेलसहितको पार्क बन्दै

सीमा तामाङ, तस्बिर : बिजु महर्जन

काठमाडौं — कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमामा रहेको बल्खु खोलाको खोचमा अहिले धमाधम पार्क बन्दै छ । चन्द्रागिरी नगरपालिका– १५ ले भिरमा रहेको २७ रोपनी जग्गामा साहसिक खेल गतिविधिसमेत सञ्चालन गर्न मिल्ने गरी संरचना बनाइरहेको छ । उक्त पार्कलाई  ‘भिराडिल खाइके साकुरा’ नाम दिइएको छ । 

भिरको डिलमा बनाइएकाले भिराडिल र जापानको साकुराबाट त्यहाँको राष्ट्रिय फूल ल्याइएकाले तिनै शब्द जोडेर पार्कको नाम राखिएको वडाध्यक्ष उत्तमबहादुर राउतले बताए । साकुरालाई नेपालमा पैयुँ फूल भनेर चिनिन्छ ।

उक्त पार्कलाई अन्तर्राष्ट्रिय ‘गर्ज पार्क’का रूपमा विकास गर्न लागिएको उनले बताए । पार्क बनाउने काम नसकिए पनि अहिल्यैदेखि धेरै मानिस हेर्न गइरहेका छन् । पार्कमा घुम्ने र कसरत गर्नेसँगै खेलकुद र मनोरञ्जन स्थलसमेत बनाउने योजना रहेको राउतले बताए । उनका अनुसार जिपलाइन, रक क्लाइम्बिङ, मिनी रेल, स्काई वाक घुमाउरो भर्याङसहित २७ किसिमका संरचना बनाइँदै छन् ।


पार्कको अनुमानित लागत ७ करोड ७८ लाख रुपैयाँ रहेको वडाले जनाएको छ । त्यसमध्ये स्थानीय सरकारको १ करोड २१ लाख ८० हजार, पर्यटन मन्त्रालयको २ करोड २६ लाख २० हजार, स्थानीय नागरिकको सेयर लगानी ४ करोड ३० लाख रुपैयाँ हुनेछ । हालसम्म पार्कको ४० प्रतिशत काम सम्पन्न भइसकेको र अबको ३ वर्षमा पार्क तयार हुने वडाध्यक्ष राउतले दाबी गरे ।


पार्कसँगै २ सय ६० मिटर लामो जिपलाइनसमेत बनाउने तयारी छ । त्यस्तै ‘सस्पेन्सन ब्रिज’ र ‘क्यान्टिलिभर’ गरी दुई किसिमको ‘स्काई वाक’ बनाउने गरी डिजाइन तयार पारिएको छ । करिब ३० जना अटाउने योग–हल पनि बनाइनेछ । वडाले एक पटकमा चार जना चढ्ने मिल्ने रक क्लाइम्बिङ पनि बनाइरहेको छ । तीन सय जना अट्ने एम्पिथिएटर, तीनवटा ‘क्यास्केड वाटर फल’ समेत बनाउने योजना छ ।

त्यस्तै खोलादेखि माथि ४० मिटर अग्लो घुमाउने भर्याङ राखिनेछ । ‘देख्दा आकर्षक देखियोस् र तलमाथि गर्न पनि सजिलो होस् भन्ने उद्देश्यले यस्तो भर्याङ राख्न लागिएको हो,’ राउतले भने । वडाका अनुसार पार्कमा करिब ३ सय मिटरको दुरीमा १२ देखि १५ सिटको विद्युतीय रेलसमेत चलाइनेछ । रेल बिजुली बत्तीबाट चल्नेछ ।

प्रकाशित : मंसिर ११, २०७७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

श्रीनगरसँगै आसपासका बजार खुले

विप्लव महर्जन

सल्यान — स्थानीयमा कोरोना संक्रमण देखिएपछि सिल गरिएका शारदा नगरपालिका–१ स्थित श्रीनगरबजार, शान्तिनगर, जोगदेखोला १९ दिनपछि खुलेका छन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानले सचेतना अपनाउँदै अनिवार्य मास्क, साबुन पानीले नियमित हात धुन, सेनिटाइजर र पन्जाको प्रयोग गरेर व्यवसाय संचालन गर्न सूचना प्रकाशन गरेपछि श्रीनगर लगायतका आसपासका बजार खुलेका हुन् ।

बजार खुला गरेपछि त्यहाँस्थित रहेका सरकारी कार्यालय , बैंक, वित्तिय संस्था, विद्यालय सबै सञ्चालनमा आएका छन् । पछिल्नो समयमा कोरोना पोजेटिभ देखिएका १२ जनाका घर पूर्णरुपमा सिल गरेर बजार खोलिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । उनले संक्रमण देखिएका घरका सदस्यलाई अत्यावश्यक काम परेमात्र बाहिर निस्कन आग्रह गरेका छन् ।

जोखिम अझै यथावत रहेकाले उनले पसल सञ्चालन गर्दा अनिवार्य रुपमा डोरी लगाएर दूरी कायम गरी पालो व्यवस्थापन गरि सेवा प्रवाह गर्न उनले व्यवसायीलाई आग्रह गरेका छन् । कात्तिक २३ गतेदेखि श्रीनगर बजार सिल रहेको थियो ।

शारदा नगरपालिका–१ को श्रीनगर बजार मात्र नभई बरला बजारको सिल पनि हटाइएको शारदा नगरपालिका सल्यानका प्रमुख सुरेश अधिकारीले बताए । कोरोना संक्रमणको जोखिम उच्च भएकाले रोग नियन्त्रण सम्बन्धी अवधारणा अपनाउन उनले आग्रह गरेका छन् ।

प्रकाशित : मंसिर ११, २०७७ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×