ढोलाहिटी-सुनाकोठी सडक मंसिर १५ सम्म कालोपत्र गरिने- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढोलाहिटी-सुनाकोठी सडक मंसिर १५ सम्म कालोपत्र गरिने

रासस

काठमाडौँ — विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मंसिर दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् ।

कात्तिक मसान्तसम्ममा बेस (आधार) को काम सकाएपछि मंसिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए । उनका अनुसार स्थानीयवासीसँग निर्माण कम्पनीले निर्माण भइरहँदा दैनिक दुईपटक पानी खसालेर धुलो कम गर्ने सहमति भएको छ । उनले भने, 'तिहारलगत्तै कम्पनीले कालोपत्र सुरु गर्नेछ ।'

सो खण्डको निर्माणको जिम्मेवारी पाएको सैलुङ निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पटक पटक सडक अवरुद्ध गरेका छन् । आयोजनाले पहिले तोकिएको मापदण्ड २० मिटर चौडाइमा निर्माण गर्न खोज्दा ढिलाइ भएको उनले बताए । मन्त्रिपरिषद्को गत पुस ३ गतेको बैठकले काठमाडौं उपत्यकामा विस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उनले भने, 'कुनै पनि संरचना नभत्काइ भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।'

ढोलाहिटी–लेले सडक विस्तार चार वर्ष पहिले सुरु भएको थियो । अहिले पनि टाखेल–लेलेलगायत चौडाइ उपलब्ध भएका स्थानमा मापदण्डानुसार नै विस्तार भइरहेको छ । आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो । उपत्यकामा विस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायत संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो ।

जति चौडाइ उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णयपछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ । आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाले जनाएको छ । पटक–पटक ठेक्काको अवधि थपिए पनि अब थप्न नमिल्ने भएकाले कम चौडाइमै कालोपत्र गर्न लागिएको हो । उपत्यकामा एकै वर्ष विस्तार सुरु भएका १० सडकमध्ये अहिलेसम्म एउटा पनि डिभिजन सडक कार्यालयमा हस्तान्तरण भइसकेको छैन ।

प्रकाशित : कार्तिक २६, २०७७ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमित बन्दी कारागारबाट भागे

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला कारागार बझाङको आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित बन्दी फरार भएका छन् । नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य प्रविन धामी कारागारबाट भागेको प्रहरीले जनाएको छ ।

उनी बुधबार बिहान कारागारको आइसोलेसन भवनबाट भागेका हुन् । उनी बिहान ६ बजेतिर कारागारबाट भागेको प्रहरीले जनाएको छ । कात्तिक १५ गते धनगढीबाट पक्राउ परेका उनको १७ गते गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुर गरेको अभियोगमा जिल्ला अदालत बझाङले उनलाई २ लाख २५ हजार धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेर उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

धामीको खोजीका लागि जिल्लाका विभिन्न ठाउँमा अस्थायी चेकपोस्ट खडा गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रूपक खड्काले बताए ।

प्रकाशित : कार्तिक २६, २०७७ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×