२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तीनथानास्थित गोल्फुथलीमा आउटडोर जिम

तस्बिर : बिजु महर्जन

काठमाडौँ — चन्द्रागिरि नगरपालिकास्थित गोल्फुथली चोकमा बनाइएको आउटडोर जिममा आइतबार बिहान ६६ वर्षीया भवानी आचार्य व्यस्त थिइन् । उनी रबर ब्याण्ड एक्सरसाइज गर्दै थिइन् । हात काम्ने समस्या भएकाले उनले रबर ब्याण्डको सहायतमा एक्सरसाइज गरिरहेकी बताइन् । नगरपालिकास्थित वडा नम्बर १५ ले सार्वजनिक जग्गामा आउटडोर जिम सञ्चालन गरेपछि उनी खुसी छिन् ।

तीनथानास्थित गोल्फुथलीमा आउटडोर जिम

‘आफ्नै घर नजिकै बनाइ दिएको छ,’ उनले भनिन्, ‘अब धेरै हिँड्नु पर्दैन, यही आएर कसरत गरे पुग्छ ।’ आचार्य जस्तै वडा–१५ कै रमन नकर्मी पनि खुसी छन् । लकडाउन अगावै दैनिक जिम जाने गरेपनि अहिले मर्निङ वाक गरेर बसिरहेका थिए । तर वडाले निर्माण गरेको आउटडोर जिम सञ्चालनमा आएपछि बाहिर जिम जानु नपर्ने उनले बताए । ‘अबदेखि मर्निङ वाक गरेर आएर यही एक्सरसाइज गर्न सक्छौं,’ उनले भने, ‘बाहिर जिममा गएर पैसा पनि खर्च गर्नु पर्दैन ।’ नकर्मीले टुइस्टर र साइक्लिङ गरेको बताए ।

वडा नम्बर १५ का अध्यक्ष उत्तमबहादुर राउतले ६ लाख रुपैयाँ खर्च गरेर गोल्फुथली आउटडोर जिम सञ्चालन गरेको बताए । ५ सय स्क्वायर जमिनमा ५ किसिमका आउटडोर जिम सामग्री राखिएको छ । शनिबारदेखि सञ्चालनमा आउने उक्त जिम महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ल्याइएको उनले बताए । फिजियाथेरापी गर्नेुपर्ने व्यक्तिहरु तथा मर्निङ वाक गर्न चाहने तर धेरै लामो बाटो हिँड्न नसक्ने ज्येष्ठ नागरिकका लागि यो उपयुक्त हुन्छ । ‘महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ल्याएपनि जुनसुकै उमेर समूहकाले एक्सरसाइज गर्न पाइनेछ,’ उनले भने ।

उक्त जिममा टुइस्टर, राइड(साइक्लिङ), पुल चेयर, पुल अप, रबत्र ब्याण्डलगायतको सामग्रीहरु राखिएका छन् । सानो ठाउँ भएकाले हाल एकपटकमा ९ जनाले मात्र गर्न मिल्ने गोल्फुथली आउट डोर समितिका अध्यक्ष हरिसरण कार्कीले बताए । हाललाई बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको सञ्चालन गरिएको छ । वडाले गोल्फुथली चोकसँगै भिराडिल साँकुरा पार्क, विष्णुदेखि मन्दिर, रामेश्वर मन्दिर र बुद्धस्थान तिनथानामा पनि यस्तै आउटडोर जिम सञ्चालन गर्ने जनाएको छ । दसैं–तिहार लगत्तै उक्त स्थानमा पनि आउटडोर जिम निर्माण गरि सञ्चालनमा ल्याउने योजना रहेको वडाध्यक्ष राउतले बताए ।

प्रकाशित : कार्तिक ३, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?