कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

खोकनामा सिकाली जात्रा सुरु, स्वास्थ्य–मापदण्ड अपनाएर रुद्रायणी नाच देखाइने

प्रशान्त माली

काठमाडौँ — कोरोना महामारीकै बीच खोकनाबासीले स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डमा रहेर यस वर्ष पनि रुद्रायणी नाचलाई निरन्तरता दिने भएका छन् । यसैअनुसार उनीहरूले सोमबार सिकाली जात्रा सुरु गरेका छन् ।  

ललितपुर महानगरपालिका–२१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जन, गुठियार, स्थानीय बुद्धिजीवीसहितको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर जात्रा मनाउने निर्णय गरेको हो ।

खोकनाबासी दसैं मनाउँदैनन् । यसको सट्टा उनीहरू इष्टदेवताका रूपमा मानिने रुद्रायणी देवीको नाचसहित सिकाली जात्रा मनाउँछन् ।

वडाध्यक्ष महर्जनले जात्रासँग सम्बन्धित गुठियारहरूको सल्लाहअनुसार नाचलाई निरन्तरता दिने निर्णय भएको बताए । ‘गुठियारहरूले एकपटक रोकेपछि नाच सदाका लागि बन्द हुने नियम रहेको सुनाए, त्यसैले निरन्तरता दिइएको हो,’ उनले भने, ‘यसबारे सांसद, पुलिस प्रशासनलाई जानकारी दिने तयारी भइरहेको छ ।’

उनले जात्रामा भिडभाड नगराइने, अत्यावश्यक गुठियारहरू मात्र सम्मिलित भएर सम्पन्न गरिने बताए । ‘सीमित बाजागाजा मात्र राखिनेछ,’ उनले भने, ‘यसबारेमा माइकिङ र सूचना टाँसेर जानकारी गराइरहेका छौं ।’ गुठियारहरूलाई स्यानिटाइजर, मास्क, ग्लोब्सको व्यवस्था गरिसकिएको महर्जनले जानकारी दिए ।

रुद्रायणी गुठीका बैदार बेखनर महर्जनले नाच बाजागाजासहित जात्रा गर्नुसँग मात्र सम्बन्धित नरहेको बताए । ‘यो देश रक्षा गर्ने यहाँको परम्परा पनि हो,’ उनले भने । खोकनामा साना/ठूला गरी सातवटा गुठी छन् । मुख्य तःगु, सलागु र जःगु गरी तीन गुठी रुद्रायणी मन्दिरसँग सम्बन्धित छन् ।

सोमबार तीनै गुठीबाट एक–एकवटा राँगा ‘ढोकासी चो फल्चा’ (पाटी) अगाडि बलि दिएर जात्रा सुरु गरिएको छ । सोही बलि बेलुकी सिकाली देवीलाई प्रसाद चढाइन्छ । मंगलबार गुठियारहरू बसेर प्रसाद खाई गुठीमा ‘छोयला बु’ मनाउँछन् । सोही राति तीनै गुठीमा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने चलन छ ।

पञ्चमीको दिन खट जात्रा हुन्छ । षष्ठीको दिन रुद्रायणी गुठियार सिकाली चौरमा सांस्कृतिक मुकुट, पोसाक, गरगहना लगाएर देवगणको भेषमा ‘अश्वमेध’ यज्ञमा सहभागी हुन्छन् । सप्तमीका दिन तल्लो लाछी टोलको डबलीमा नाच देखाउने प्रचलन छ । उक्त नाचलाई महादेवीले महिषासुरको वध गरेकोमा खुसियाली मनाएको (लसता प्याँख) प्रतीकका रूपमा लिइन्छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?