१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पशुपति क्षेत्र विकास कोष घेराउ

कान्तिपुर संवाददाता

काठमाडौँ — पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका छन् । 

पशुपति क्षेत्र विकास कोष घेराउ

पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोधअन्तर्गत बुधबार कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका हुन् । स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाउामा परापूर्वकालदेखिको बस्ती मास्ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्र भित्र रहेका १ सय ४० पर्व र ४० वटाभन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताए । कोषले ल्याएको गुरुयोजनाको खारेजीको माग गर्दै आफूहरुले दोस्रो चरणको विरोध स्वरुप बुधबार कोषको कार्यालय घेराउ गरिएको उनले बताए ।

वाग्मती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तो नाटक गरिरहेको तर सरकारले स्थानीयका कुन पनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको बताए । स्थानीयले गुरोयोजना खारेज गर्न, पशुपति क्षेत्र विकास कोषको खारेज गरी काठमाडौं महानगरपालिकाअन्तर्गत ल्याउन माग गरेको उनले बताए । तर सरकारले संवेदनशील नभएकाले कोभिड संक्रमणको जोखिमबीच पनि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए ।

पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसाग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरुले बताएका छन् । स्थानीय बस्ती हट्नेभन्दा पनि पशुपति क्षेत्र भित्रका जात्रा, पर्वहरुको विनास हुने चिन्तामा आफूहरु रहेको स्थानीयले बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो । कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

प्रकाशित : आश्विन २१, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?