१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मत्स्यनारायण मेला : नित्य र आरतीमा मात्र देवता दर्शन गर्न सकिने

प्रशान्त माली

काठमाडौँ — कोभिड–१९ महामारीको कारणले मत्स्यनारायण मेला पनि प्रभावित बनेको छ । मलमासभरि राजधानीदेखि झन्डै ८ किलोमिटर दक्षिणपश्चिममा अवस्थित मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर दिनभर श्रद्धालु भक्तजनको लागि खुल्ला रहने गर्दथ्यो ।

मत्स्यनारायण मेला : नित्य र आरतीमा मात्र देवता दर्शन गर्न सकिने

तर, यस वर्ष महामारीका कारण भक्तजनहरुले, मन्दिरका पुजारीले बिहान गरिने सरसफाई, नित्य पाठ र बेलुकाको अभिषेक, आरती र फूलप्रसाद बाँड्ने बेला मात्र देवताको दर्शन गर्न सक्नेछन् । अरु बेला भने मन्दिरको ढोका बन्द हुने जानकारी मत्स्यनारायण मन्दिरका पुजारी शैलेश आर्चायले दिए । ‘नित्य पूजाका लागि बिहान ४ देखि ७ र बेलुका आरतीको लागि ३ देखि ७ बजेसम्म मात्र ढोका खोलिनेछ,’ उनले भने, ‘यो अवधिमा मात्र देवताको दर्शन गर्न सकिनेछ ।’

मच्छेगाउँमा सुनको जलप लगाएको गरूडको कलात्मक प्रवेशद्वार भएको मत्स्यनारायण मन्दिर छ । जहाँ माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गदा र पद्य लिएको नारायणको मूर्ति छ ।

मत्स्य अर्थात् माछाको मुखबाट प्रकट भएकाले यिनलाई मत्स्यनारायण भनिएको हो । विष्णुले दस अवतार लिँदा सबैभन्दा पहिले मत्स्य अवतार लिएको किंवदन्ती छ । मलमासभर मत्स्यनारायणको पूजा दर्शन गर्नाले सम्पूर्ण पाप कर्म नास हुने जनविश्वास छ ।

तर यसपालि महाकारी र यसअघि ०७२ सालको भूकम्पले गर्दा विगतमाभन्दा चहलपहल कम भएको पुजारी आर्चायले बताए । चन्द्रमाको नियमअनुसार तीथि गणना गर्दा हुने टुटफुट सबै जम्मा गरी साढे दुई वर्षमा एकपटक मिलान गर्दा हुने त्यस्तो महिनालाई अधिकमास वा मलमास भन्ने गरिएको हो । यस महिनाभरि यज्ञ, होम आदि धार्मिक कार्यका साथै विवाह, व्रतबन्ध र चूडाकर्म गर्न नमिल्ने परम्परा छ ।

मत्स्येनारायणको उत्पत्ति

किंवदन्ती अनुसार ब्रम्हाले संसारको सृष्टि गर्नेक्रममा हैग्रिप दानवको पनि सृष्टि भयो । दानवले ब्रम्हाको आखा छली वेदलाई हरण गरेर पातल लोकमा लुकाएर राखे । विष्णुले मत्स्यको रुप धारण गरेर दानवलाई मारेर संसारको सृष्टि नास हुनबाट बचाएको नेपाल महात्म्यमा उल्लेख छ ।

मन्दिर घण्टा आकारको पौराणीक तथा कलात्मक शिखरशैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रुपको मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतसहित गरुढ हनुमान र दुवै छेऊमा शिवको लिंग छ ।

पोखरी अगाडि जलाशयमा मत्स्य कुण्ड अवस्थित शिव लिंग छ । मन्दिर भित्र पान्चायन देवता र अन्य विष्णुका रुपहरु रहेका छन् । पौराणिक शंख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुंगाको मूर्ति छन् ।

प्रकाशित : आश्विन १२, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?