१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौंका पालिकाले सुरु गरे वैकल्पिक कक्षा

सीमा तामाङ

काठमाडौँ — काठमाडौंका अधिकांश पालिकाहरूले वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरेका छन् । अनलाइन, टिभी, रेडियोको पहुँच भएको ठाउँमा तिनै माध्यम र अन्यत्र सिकाइ केन्द्रबाट कक्षा सञ्चालन गरिएको हो । 

काठमाडौंका पालिकाले सुरु गरे वैकल्पिक कक्षा

विद्यालयहरूले कक्षा सञ्चालन तथा व्यवस्थापनका लागि थप अध्ययनसमेत गरिरहेको पालिकाहरूको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ देखि शैक्षिक सत्र सुरु हुने गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेपछि स्थानीय तहले कक्षा सञ्चालन गरेका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले असोज ११ बाट जोरबिजोर विधिबाट विद्यालयमै पठनपाठन सुरु गरिने जनाएको छ । पहिलो चरणमा असोज २५ सम्म जोरबिजोर विधिबाट कक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाका मेयर कृष्णहरि थापाले बताए । केन्द्र सरकारको निर्णय र कोभिड–१९ को अवस्था हेरेर तिहारपछि दोस्रो चरणको कार्यक्रम ल्याइने उनको भनाइ छ ।

पहिलो चरणमा बारअनुसार कक्षा १ देखि ५ र ६ देखि १२ सम्म छुट्ट्याएर कक्षा चलाइने नगरपालिकाले जनाएको छ । ‘विद्यार्थी संख्याअनुसार बिहान, दिउँसो र बेलुका गरी सिफ्टअनुसार पठनपाठन गराइनेछ,’ मेयर थापाले भने, ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार नै विद्यालयमा पठनपाठन सञ्चालन गराउन लागेका हौं ।’

भौतिक रूपमा उपस्थित भई कक्षा सञ्चालन गरिने भए पनि सातामा २ देखि ३ दिन मात्रै पठनपाठन गराइने नगरपालिकाका शिक्षा शाखा प्रमुख गोविन्दप्रसाद शर्माले बताए । नगरपालिकामा रहेका १८ वटा सरकारी तथा सामुदायिक विद्यालयलाई स्वास्थ्य मापदण्ड पुरा गर्न विद्यालयले बुझाएको बिलअनुसार पैसा दिइनेछ । ‘विद्यार्थी बसेर निस्कनासाथ सिट तथा विद्यालयलाई स्यानिटाइज गरिनेछ,’ उनले भने । संस्थागत विद्यालयले भने स्वास्थ्य मापदण्ड पूरा गर्न अभिभावकसँग अतिरिक्त शुल्क उठाउन पाउने उनले बताए ।

त्यस्तै टोखा नगरपालिकाले वैकल्पिक माध्यमबाटै शैक्षिक सत्र सुरु गरिने जनाएको छ । सम्पर्क कक्षा, पठनपाठन गराउने, गृहकार्य लिने/दिने, अनलाइन, रेडियो, टिभी, घरदैलो भेटघाटबाट कक्षा सञ्चालन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले बताए । भौतिक रूपमा संलग्न गराएको खण्डमा ५ देखि ७ विद्यार्थीलाई उनीहरूकै समुदायमा गएर १५/२० मिनेटको लागि घरदैलो कक्षा सञ्चालन गर्न सकिने उनले बताए । ‘भौतिक रूपमा संलग्न हुँदा पनि गृहकार्य लिने/दिने र नबुझेका कुरा सोध्न पाइनेछ,’ उनले भने ।

संस्थागत विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गरेको दिनदेखि नगर शिक्षा समितिले तोकेको दरमा मासिक शिक्षण शुल्क मात्र लिन पाइने नगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिका, कीर्तिपुर, दक्षिणकाली, शंखरापुर, गोकर्णेश्वर, बूढानीलकण्ठ, नागार्जुन, चन्द्रागिरि र तारकेश्वर नगरपालिकाले पनि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् । यी नगरपालिकाले अनलाइन, रेडियो, टिभीमार्फत पढाइरहेका छन् ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत मोतीप्रसाद भट्टराईले मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार नै काम भइरहेको बताए । ‘कोभिड–१९ शून्य भएको वडामा कक्षा सञ्चालन गर्ने वातावरण बनाउनेबारे अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘तर काठमाडौंको हकमा यो मुस्किल हुने रहेछ, त्यसैले कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अन्य योजना बनाउँदै छौं ।’ बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार केही विद्यालयले भौतिक रूपमै उपस्थित गराई कक्षा चलाउन खोजे पनि अभिभावकले मानेका छैनन् ।

नागार्जुन नगरपालिकाले पनि तत्काललाई वैकल्पिक माध्यमलाई नै जोड दिइरहेको र संक्रमितको संख्या घटेपछि विद्यालयमै कक्षा चलाउन सकिने जनाएको छ । दक्षिणकाली नगरपालिकाले वैकल्पिक माध्यमबाटै पढाइरहेको छ । ‘अनलाइन, रेडियो तथा टिभीबाट कक्षा लिन नसकिने ठाउँमा शिक्षकहरू नै गएर गृहकार्य गराउने गरिरहेका छन्,’ उपमेयर वसन्ती तामाङले भनिन् । कीर्तिपुर नगरपालिकाले पनि सहजीकरण निर्देशिकाअनुसार काम भइरहेको जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?