पशुपतिमा भजन गाउन जम्मा भएकामाथि धरपकड

दामोदर न्यौपाने

काठमाडौँ — पशुपतिनाथको मन्दिरमा भजन गाउन तयार भएका पशुपतिनाथ भण्डारी लगायतमाथि प्रहरीले धरपकड गरेको छ । 

पशुपतिनाथको मन्दिर खोल्न शान्तिपूर्ण दवाब दिने उद्देश्यले बिहीबार बिहान ८ बजे पशुपति परिसर बाहिर भुवनेश्वरी चोकमा भजन गाउने तयारी गर्दा गर्दै प्रहरीले माइक खोसेको थियो ।

पशुपतिमा भजन गाउन जम्मा भएकामाथि धरपकड

‘दुई लाइन भजनमात्र गाएको थिएँ,’ पशुपतिका भण्डारी केदारमान भण्डारीले भने, ‘प्रहरी आएर माइक खोसीहाल्यो ।’

कार्यक्रम हुन नदिन बिहान ६ बजेदेखि नै प्रहरी तैनाथ गरिएको भण्डारीको आरोप छ । गौशाला, चाबहिल, जयबागेश्वरी, गुहेश्वरी लगायतका नाकामा बसेर प्रहरीले पशुपति आउन रोकेको थियो । ‘कसैलाई आउन दिएन,’ भण्डारीले भने, ‘बिहानैदेखि पशुपति परिसरमा पानीको फोहोरा हान्न ट्याक्र, अश्रुग्यास लगायत बोकेर प्रहरीले त्रसित बनाएको थियो ।’

माइक खोसेपछि अन्धधुन्ध लाठी प्रहार गरेको थियो । प्रहरीले लाठी प्रहार गरे पनि भजनमा सहभागीले संयमता अपनाएकाले कुनै अप्रिय घटना नभएको भण्डारीले बताए ।

सरकारले बिहीबारदेखि नै लामो दुरीको यातायात खोलिसकेको छ । धार्मिक स्थल पनि सुरक्षाका सबै मापदण्ड पूरा गरेर खोल्नु पर्ने माग धार्मिक संघसंस्थाका पदाधिकारीले गरेका छन् । ‘सबै खुली सक्यो । मठ मन्दिर मात्र किन नखोल्ने ?,’ भण्डारीले भने, ‘६ महिना भयो दर्शन गर्न नपाएको । दर्शन त गर्न पाउनु पर्‍यो नि ! कोरोनाले अशान्त भएका मान्छे धार्मिक स्थलमा गएर शान्त हुने अपेक्षा हुन्छ । मन्दिर धेरै नभए पनि दिनमा १/२ घण्टा मात्रै खोलिदियो भने हुन्छ । विस्तारै समय बढाउँदै लैजान सकिन्छ । मन्दिरमा दुरी कायम राख्ने, स्यानिटाइजर लगायत सुरक्षाको सामान व्यवस्था गरेर खोल्नु पर्छ ।’

मन्दिर खोल्न माग गर्दै राष्ट्रपति विद्यादेखि भण्डारी पशुपति क्षेत्र विकास कोष, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई समेत भेटेर ज्ञापन पत्र समेत दिइसकेका छन् । शिवसेना नेपाल, हिन्दुजागर नेपाल, विश्वहिन्दु महासंघ, विश्वहिन्दु युवा संघ अन्तराष्ट्रिय समितले मन्दिर विहिबारबाटै खोल्न माग राख्दै मन्त्री भट्टराइलाई ज्ञापन पत्र बुझाएका थिए । मन्त्री भट्टराईले बिहीबारै नखोले पनि केही दिनमै खोल्ने आश्वासन दिएका थिए । ‘केही दिनमै खुल्छ,‘ मन्त्री भट्टराइले भने ।

५ दिनमा नखोले धार्मिक आन्दोलन

पशुपतिनाथको मन्दिर ५ दिनभित्र नखोले आन्दोलन गर्ने चेतावनी धार्मिक संघ संस्थाले दिएका छन् । शिवसेना, नेपाल, हिन्दु जागरण नेपाल, विश्वहिन्दु महासँग लगायत २१ वटा धार्मिक संगठनको बिहिबारको बैठकले यस्तो चेतावनी दिएका हुन् ।

कोरोनाको महामारीले ०७६ चैत १० गतेदेखि लकडाउन भएसँगै पशुपतिनाथ लगायत मठ मन्दिरमा दर्शन गर्न बन्द गरिएका छन् । पशुपतिनाथमा नित्य पुजा भने भइरहेको छ । मन्दिर नखुल्दा पनि गेट बारिबाटै दर्शन गरेर फर्कने गरेका छन् ।


प्रकाशित : आश्विन १, २०७७ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?