कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भक्तपुर घटना पोष्टमार्टम रिपोर्ट : पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको हुनसक्ने 

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा एउटै परिवारका तीन जनाको शव भेटिएको प्रकरणमा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानलाई पोष्टमार्टमको रिपोर्टले पनि पुष्टि गरेको छ । 

भक्तपुर घटना पोष्टमार्टम रिपोर्ट : पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको हुनसक्ने 

३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको भदौ २६ (शुक्रबार) साँझ घरभित्रै शव फेला परेको थियो । पत्नी र छोराको सुतेकै अवस्थामा धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको आशंका थियो ।

महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी ऋषिराम कँडेलका अनुसार पोस्टमार्टम रिपोर्टको अध्ययन पछि आमा–छोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालिएको छ । काठमाडौं मेडिकल कलेज चाँगुनारायण दुवाकोटमा गरिएको पोष्टमार्टमले पत्नी र छोराको हत्यापछि सुदिपले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने रिपोर्ट निकालेको हो । सम्झनाको टाउकोमा तीन पटक धारिलो हतियार प्रहार भएको रिपोर्टमा उल्लेख भएको डीएसपी कँडेलले बताए ।

छोरा (सुशान्त) को भने घाँटी रेटिएको र टाउकोमा चारपल्ट धारिलो हतियार प्रहार भएको चिकित्सकले दिएको रिपोर्टमा उल्लेख छ । प्रहरीले घटनास्थलबाट सोही दिन धारिलो हतियार (दाउ) बरामद समेत गरेको थियो । सुदीपले भने विष सेवन गरेको पाइएको पोष्टमार्टममा उल्लेख भएको प्रहरीले बताएको छ । प्रहरीले शनिबार घर नजिकैको धानबारीमा ‘सल्फस’ नामक विषको २ वटा बट्टा फेला पारेको थियो ।

पत्नी र छोराको हत्याको २४ देखि ४८ घन्टाको बीचमा सुदीपले आत्महत्या गरेको हुनसक्ने रिपोर्टले देखाएको छ । प्रहरीका अनुसार सुदिपले भदौ २३ गते बेलुका आमा–छोराको हत्या गरेको र पर्सिपल्ट बिहान दुवैजनाको मोबाइल ‘स्वीच अफ’ गरेर विष सेवन गरी आत्महत्या गरेको देखिएको छ ।

शुक्रबार साँझ करिब ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र फरेन्सिक विज्ञको टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपको शव घरको माथिल्लो तलाको कौशीको ढोकामा घोप्टिएको अवस्थामा, सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र सुशान्तको शव पहिलो तलाको ओछ्यानमा घोप्टिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार आमा–छोरा दुवै जनाको शव कुहिएर किरा परेको अवस्थामा भेटिएको हो भने, घरको पहिलो तलामा कुकुर र माथिल्लो तलामा सुदिपको शव भेटिएको थियो । कुकुर र सुदिपको शव भने कुहिसकेको थिएन । कुकुरलाई समेत विष खुवाइएको प्रहरीको भनाइ छ ।

प्रहरीलाई सुदीपका आफन्तले बताएअनुसार उनले केही महिना अघि जागिर छोडेका थिए र घरकै भूईंतलाको सटरमा पतिपत्नीले किराना पसल संचालन गर्दै थिए । यसका लागि उनले २ लाख रुपैयाँ ऋण लिएको र घर बैंकमा धितोमा रहेको पाइएको पनि प्रहरीले बताएको छ । छिमेकी र आफन्तले केही समयदेखि अधिकारीको घरमा झगडा भइरहने गरेको बताएको पनि प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?