१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

'अत्यावश्यकबाहेकका पसल तथा व्यवसाय सञ्चालनमा रोक लगाउनुपर्छ'

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १७ गते जारी गरेको निषेधाज्ञाको सञ्चालन गर्न पाउने सेवाअन्तर्गत बुँदा नम्बर ३ मा उल्लेख गरिएकाे व्यवस्थाप्रति उपत्यका नगरपालिका फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

'अत्यावश्यकबाहेकका पसल तथा व्यवसाय सञ्चालनमा रोक लगाउनुपर्छ'

उक्त बुँदामा ‘उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल/व्यवसाय साथै तीनकाे ढुवानीका लागि प्रयोग हुने सवारी साधन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने’ उल्लेख छ ।

यसले निषेधाज्ञाको अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राख्दै यसमा सुधार गर्नु पर्ने फोरमको माग छ । बिहीबार फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यकीय वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल/व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अबिलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ ।’


यसअघिको निषेधाज्ञालाई अलि खुकुलो बनाएर भदौ १७ गते उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरेका थिए । आदेशमा निषेध गरिएका सेवालाई १३ बुँदामा र सञ्चालन गर्न पाउने सेवालाई १६ बुँदामा उल्लेख गरिएको छ । यो आदेश भदौ २४ गते राती १२ बजेसम्मका लागि हो । भदौ ३ गते सुरु भएको आदेश १७ गते राति १२ बजेसम्म जारी थियो ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा आइनसकेको उल्लेख गर्दै जिल्ला प्रशासनले नेपाल सरकार मन्त्री परिषद्को निर्णय, स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरेर निषेध आदेश जारी गरेको हो । १७ गते थपिएको आदेश २४ गते राति १२ बजेसम्मका लागि हो ।

विषय परिस्थितिलाई ध्यानमा राख्दै उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवामध्ये अत्यावश्यकबाहेकका अन्य सेवा भदौ २४ गतेसम्म बन्द रहने कुरा उल्लेख छ ।

प्रकाशित : भाद्र १८, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?