१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सुनसान शिवालय, नाचगान घरैमा

कोरोना संक्रमणको जोखिमप्रति सतर्कता अपनाउँदै परिवारभित्रै मनाए चाड

काठमाडौँ — कोरोना सन्त्रासले सबैलाई घरघरमै बस्दा मात्रै सुरक्षित रहने बनाएपछि यसपटक शुक्रबार शिवालयहरू सुनसान रहे । महिलाहरूले तीज घरको चौघेराभित्रै मनाएका छन् । बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यकाका निषेधाज्ञा जारी भएसँगै तीज पर्वमा बाहिरिन नपाएका हुन् ।

सुनसान शिवालय, नाचगान घरैमा

हिन्दु धार्मिक मान्यताअनुसार हरितालिका तीजकै दिन हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई पाउन पहिलो ब्रत बसेकी थिइन् । पार्वतीको निराहार ब्रतले नै शिव प्रसन्न भएको धार्मिक कथन र विश्वासका साथ विवाहित महिलाहरू पतिको आरोग्य र दीर्घायुको कामनाका साथ व्रत बसेर तीज मान्छन् ।

सुनसान पशुपति क्षेत्र परिसर । तीजको दिन बर्सेनि चहलपहल हुने यो क्षेत्रमा यसपटक निषेधाज्ञाका कारण श्रद्धालु आउन पाएनन् ।

अघिल्ला वर्षहरूमा तीजको दिन पशुपति क्षेत्रलगायत उपत्यकाका अन्य शिव मन्दिरहरूमा गएर पूजाआराधनासँगै नाचगान गर्ने व्रतालु महिलाहरू शुक्रबार भने घरमै रहे । बाहिर निस्कन नपाइने भएकाले घरमै बसेर तीज मान्नुपरेको सामाखुसीकी उर्मिला दाहाल गौतमले बताइन् । परिवार मात्र बसेर नाचगानका साथ सबैले तीज मनाएको उनले सुनाइन् । ‘तीजमा दिदीबहिनी र अन्य आफन्तहरूलाई बोलाएरसँगै तीज मनाउँथ्यौं । यो वर्ष परिवार मात्र भयौं,’ उनले भनिन्, ‘यो वर्ष सुरक्षित भएर बाँचेमा अर्को वर्ष धुमधामका साथ तीज मनाउँला ।’

गौतम मात्र नभएर अधिकांश महिलाहरूले यो वर्ष घरमै परिवारजनसँगै तीज मनाए । रातो सारी र चुरापोतेमा सजिएका महिलाहरूले आफ्नै घरमा नाचगानका साथ तीज मनाइरहेका तस्बिर र भिडियोहरूले शुक्रबार सामाजिक सञ्जाल रंगिएका थिए । कोरोना महामारीकै कारण सामाजिक सञ्जालबाट नै अन्य आफन्तलाई शुभकामना आदानप्रदान गरी परिवारसँगै तीजको उत्सव मनाइएको काठमाडौं नैकापकी रेणु राणा मगरले सुनाइन् । अघिल्लो वर्षजस्तो आफन्त जमघट गर्ने अवस्था नभएकाले परिवारमै बसेर तीज पर्वलाई सामान्य तरिकाले मनाइएको उनले सुनाइन् ।

‘घरनजिकैको शिव मन्दिर छ । मैले त निस्केर त्यहाँसम्म जान आएँ,’ उनले भनिन् । बालाजुकी अनिता कार्कीले तीजमा पनि व्रत राखिन् । ‘पोहोरपरार दिदीबहिनी, साथीसँगै मन्दिर गएर रमाइलो गरे पनि यो वर्ष जान पाइएन,’ उनले भनिन् । ‘घरमा नै पोहोर सालजस्तै राति दर खाने र तीजको दिनभर नाचगान गर्ने गरे पनि केही खल्लोचाहिँ भयो ।’ त्यस्तै नयाँबानेश्वर बस्दै आएकी हेटौंडाकी सुनिता कार्की भने पञ्चकुमारी मन्दिरमा गई पूजा गरेर ब्रत बसिन् । अघिल्लो वर्षजस्तो नयाँ सारी गरगहनाबिना नै उनले तीज मनाइन् । यो वर्ष कोरोनाले गर्दा सबै जना घरभित्र मात्र खुम्चिएको कार्कीले दुखेसो गरिन् । गाउँघरमा टोलछिमेकका आँगनमा जम्मा भई मनाएको विगतका तीजको स्मरण गर्दै उनले भनिन्, ‘चोक, गल्ली, मन्दिर र सडकमा तीजको नाचगान कति रमाइलो हुन्थ्यो पहिले पहिले ।’

बबरमहलमा रहेको सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक तथा चित्रकार संगीता थापाले पनि यो वर्ष घरमै बसेर पूजा गरिन् । भौतिक रूपमा गुरुसँग भेट्न सम्भव नभएपछि भर्चुअल रूपमा सम्पर्क गरेर विधिपूर्वक पूजा गरेको उनले बताइन् । ‘परिस्थितिलाई बुझेर घरका परिवारभन्दा बाहिरका आफन्तहरूसँग जमघटबिना नै यो वर्षको तीज मनाइयो,’ उनले भनिन्, ‘कोरोनाको संक्रमणप्रति अहिले सबैको सतर्कता आवश्यक छ । चाडबाड सुरक्षित तरिकाले मान्नुपर्छ ।’ विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले सामाजिक सञ्जालमार्फत नै महिलाहरूलाई तीजको शुभकामना बाँडिन् । ‘वृद्धा आमाहरू, बिरामी तथा आफ्नो स्वास्थ्य कमजोर भएका अशक्त दिदीबहिनीहरू सबैले स्वास्थ्यलाई प्रतिकूल नहुने गरी व्रत बस्नका निम्ति पनि अनुरोध गरेँ,’ उनले भनिन् ।

प्रकाशित : भाद्र ६, २०७७ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?