उपत्यकाका ठाउँठाउँमा ‘डिस–इन्फेक्टेन्ट’ [तस्बिरहरु]
काठमाडौँ — काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भेटिएका र जोखिमयुक्त स्थानहरूमा निःसंक्रमित (डिस–इन्फेक्टेन्ट) गर्दै आएको छ । महानगरकाे टोलीले शुक्रबार सुन्धारादेखि सिंहदरबारसम्मका स्थानमा जीवाणुनाशक रसायन छर्किएको छ ।
टेकु, वीर अस्पताल, कालिमाटी फलफूल बजारलगायत स्थानमा सुरुदेखि नै डिस–इन्फेक्टेन्ट गर्दै आएको महानगरले अहिले अन्य अस्पताल र सार्वजनिक स्थानमा पनि त्यसलाई निरन्तरता दिन थालेको हो ।
यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको महानगरले जनाएको छ । ‘कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले चनचेतनामूलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने काम हुँदै आएको छ,’ मेयर विद्यासुन्दर शाक्यले भने, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोलीसमेत परिचालन गरेका छौं ।’
गर्मी मौसममा डेंगुलगायत प्रकोप बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि पनि डिस–इन्फेक्टेन्ट गर्ने कामलाई निरन्तरता दिएको उनको भनाइ छ ।
नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक स्थानलाई निःसंक्रमण गर्ने कामलाई निरन्तरता दिँदै आएको जानकारी दिए ।
‘मुख्य गरी कालिमाटी, बल्खुलगायत बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘एकसरो काठमाडौं महानगरका ३२ वटै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं ।’
निःसंक्रमण गर्न मापदण्डबमोजिमको रसायन प्रयोग गरिएको उनको भनाइ छ । ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुन्जेल जारी राख्छौं,’ उनले भने ।