भक्तपुरमा भिडभाड हुने गतिविधिमा निषेध
भक्तपुर — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले भिडभाड हुने गतिविधिलाई निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सूचना जारी गर्दै स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने सन्दर्भमा साउन ३० गते राति १२ देखि साउन १५ गते राति १२ बजेसम्मलाई भिडभाड हुने गतिविधिमा रोक लगाएको जनाएका हुन् । खुल्ला स्थानमा मानिस भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्य पूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि, उद्योग व्यापार/व्यावसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।
त्यस्तै शैक्षिक संस्थाहरु संचालन, सबै प्रधारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन, फुटपाथ, खुला ठाउँ र ठेलागाडा/साइकल संचालन, कवाडी संचालन, ‘टेक वे’ बाहेक होटल/रेस्टुराँ संचालन गर्न निषेध गरिएको छ ।
त्यसैगरी, मध्यपुर थिमि नगरपालिकाका १, ६ र ७ नम्बर वडा कार्यालयहरुले साउन ३१ देखि भदौ ९ गतेसम्मका होटल/रेस्टुराँ, चिया पसल, खाजा घर, मासु पसल, बैंक तथा वित्तीय संघसंस्थाहरु पूर्णरुपमा बन्द गर्ने, खाद्यान्न तथा किराना पसल बिहान ६ देखि ९ र बेलुका ५ देखि ७ बजेसम्म खुल्ने, तरकारी पसल र दूध डेरी बिहान ५ देखि ७ र बेलुका ५ देखि ७ बजेसम्म संचालन गर्न अनुरोध गरका छन् ।