दुई जना प्रहरीमा कोरोना देखिएपछि थिमि प्रहरी वृत्तमा सेवाग्राहीलाई निषेध 

कान्तिपुर संवाददाता

भक्तपुर — महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

महानगरीय प्रहरी कार्यालय सीआरभी रानीपोखरीमा दरबन्दी भइ सवारी चालकका रुपमा काजमा गत साता थिमि आएका ती प्रहरीमा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमा कोरोना संक्रमण भएपछि ती प्रहरी जवानको पनि पीसीआर परीक्षण गराइएको वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

प्रहरी वृत्त थिमिकै मुद्दा शाखामा कार्यरत एक प्रहरी जवानमा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवैको केएमसी अस्पताल दुवाकोटमा उपचार भइरहेको र अवस्था सामान्य भएको डीएसपी कँडेलले बताए ।

कार्यालयमा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सेवाग्राहीको आगमन निषेध गरेको जनाएको छ । ‘थुनुवाको पनि पीसीआर परीक्षणको चरणमा छ,’ उनले भने । वृत्त थिमिमा कार्यरत प्रहरी अधिकारीको पीसीआर परीक्षणका लागि बुधबार ‘स्वाब’ संकलन गरिने जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?