नेपाल पुलिस क्लबअगाडि अनशन बसे ‘इनफ इज इनफ’ का युवाहरु

अभियन्ता भन्छन्– ‘प्रहरीले दुर्व्यवहार गर्‍यो’
गोकर्ण गौतम

काठमाडौँ — ‘इनफ इज इनफ’ का युवाहरुले गैरकानुनी तबरले समातेको र दुर्व्यहार गरेको भन्दै नेपाल पुलिस क्लब अगाडि अनशन बसेका छन् । अनशन बस्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुन्द्र केसी, पवन मल्ल र सुजन थापा छन् । सिंहदरबारबाट बुधबार दिउँसो पक्राउ परेका उनीहरु साँझ छुटेलगत्तै अनशनमा बसेका हुन् ।

नेपाल पुलिस क्लबअगाडि अनशन बसे ‘इनफ इज इनफ’ का युवाहरु

गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न जान लाग्दा उनीहरुलाई सिंहदरबारको दक्षिणी गेटमा प्रहरीले पक्राउ गरेको थियो । पुकारले इकान्तिपुरसँग भने, ‘हामी पास लिएर सिंहदरबार छिर्दै थियौं । प्रहरीले माथिको आदेश छ भन्दै जबर्जस्ती उठाएर नेपाल पुलिस क्लब ल्यायो । यहाँ हामीलाई दुर्व्यवहार गरियो । फोनसमेत खोसियो ।’ क्लब ल्याउनासाथ पुकारसहित पाँचै अभियन्ताले पानीसमेत नखाई अनशन सुरु गरेका थिए ।

उनका अनुसार साँझ साढे ७ बजेतिर २०–२५ प्रहरीले घिसार्दै उनीहरुलाई क्लब अगाडिको सडकमा ल्याएर छोडिदिएका थिए । ‘हामीलाई घिसार्दै लछारपछार गर्दै सडकमा फालियो । बाहिर हामीलाई जसरी फाल्यौ, त्यही अवस्थामा अनशन बसिरहेका छौं,’ पुकारले भने । ‘इनफ इज इनफ’ कै तर्फबाट कोरानाको सबल व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र समइरा श्रेष्ठ १२ दिनदेखि सत्याग्रहमा छन् ।

पुकारका अनुसार सूचनाको हकको निवेदन दर्ता गरेपछि बुधबार नै प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री, मुख्य सचिव र गृह सचिवविरुद्ध सम्पत्ति छानबिन र अनिमियताको मुद्दा दर्ता गर्ने तयारी थियो । पुकार भन्छन्, ‘तर, भण्डाफोर हुने डरले पाँच जना युवासँग यति शक्तिशाली भनिएको सरकार डरायो ।’

विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले प्रहरीको ज्यादतीविरुद्ध बिहीबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने जानकारी दिए । प्रहरीले अपहरण शैलीमा पक्राउ गरेर सडकमा फालिदिएको भन्दै उनले भर्त्सना गरे ।

काठमाडौं प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले भने निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेकाले समातिएको बताए । ‘आफन्तजनको जिम्मा लगाएर छोड्न खोजेका थियौं, उहाँहरुले मान्नु भएन,’ डिएसपी केसीले भने ।

प्रकाशित : श्रावण १४, २०७७ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?