कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

साँगामा पहिलो दिन ६२ यात्रुको स्वाब संकलन

लीला श्रेष्ठ

भक्तपुर — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण थप फैलन नदिन उपत्यकाको पूर्वी नाका साँगामा यात्रुको स्वाब संकलन थालेको छ । मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र मातहतको चिकित्सा प्रयाेगशाला विज्ञ टोलीले स्वाब स‌ंकलन थालेको हो ।

साँगामा पहिलो दिन ६२ यात्रुको स्वाब संकलन

टोलीले आइतबार साँगाबाट प्रवेश गर्न लागेका ६२ यात्रुको ‘नाजल स्वाब’ संकलन गरेको हो । सोमबारबाट दैनिक दुई सिफ्टमा यात्रुको स्वाब संकलन गरिने टोलीले जनाएको छ । जनस्वास्थ्यकर्मी कमल रानाभाटका अनुसार साँगाबाट झन्डै ४ हजार यात्रुको स्वाब लिई पीसीआर परीक्षण गरिनेछ । उपत्यकाका मुख्य नाकाहरू नागढुंगा र फर्पिङबाट समेत गरी करिब १० हजार यात्रुको पीसीआर परीक्षण गर्ने योजना रहेको पनि उनले बताए ।

लकडाउन अन्त्यपछि कोभिड–१९ संक्रमण दर पत्ता लगाई थप रणनीति तय गर्न सीसीएमसीमार्फत सरकारलाई आवश्यक सुझाव दिने गरी यात्रुको स्वाब संकलन थालिएको अर्का एक जनस्वास्थ्यकर्मीको भनाइ छ । उपत्यका भित्रिनेमध्ये सबै जिल्लाका यात्रु समेटिने र तीमध्ये पनि तराईका जिल्लाका, दीर्घरोगी, वृद्धवृद्धालाई लक्षित गरिने उनले बताए ।

नाकामा प्रत्यक्ष रूपमा खटिने प्रहरी, कर्मचारीको पनि स्वाब संकलन गरिने टोलीले जनाएको छ । स्वाब लिएपछि कर्मचारी/प्राविधिकले यात्रुको व्यक्तिगत विवरण, मोबाइल नम्बर राखेर मात्र उनीहरूलाई पठाउँछन् । यात्रुको रिपोर्ट एक साताभित्र आइसक्ने बताइएको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?