१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मत्स्येन्द्रनाथको रथारोहण हुने

प्रशान्त माली

काठमाडौँ — कोभिड–१९ का कारण पटक–पटक स्थगन भएको अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण शनिबार नागपञ्चमीको अवसरमा पुल्चोकमा हुने भएको छ । मत्स्येन्द्रनाथका ज्योतिषि, पानेजु (पुजारी), गुठियार, ज्यापू समाज, गुठी संस्थान र ललितपुर महानगरपालिकालगायत सरोकारवालाको शुक्रबारको छलफलपछि यस्तो निर्णय गरिएको हो ।

मत्स्येन्द्रनाथको रथारोहण हुने

रथारोहणको साइत भने १२ बजेर ५ मिनेटबाट १० मिनेटसम्म रहेको मत्स्येन्द्रनाथका ज्योतिषि कीर्तिमदन जोशीले बताए ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार परम्पराअनुसार रथारोहण गरेको चार दिनभित्र रथयात्रा सुरु गर्नुपर्छ । ‘तर कोभिड–१९ कारण लकडाउन पूरा रूपमा खुलेपछि मात्र रथयात्रा गर्ने तय भएको छ,’ उनले भने । रथारोहण यसअघि असार २४ गते गर्ने तय भएको थियो । तर लकडाउनका कारण स्थगित भयो । तिथिअनुसार रथारोहण वैशाख १२ गते गर्नु पर्दथ्यो । मत्स्येन्द्रनाथका ज्योतिषी जोशीका अनुसार नागपञ्चमीमा रथारोहण नभएमा दसैंसम्म अर्को साइत छैन । यसलाई मध्यनजर गरेर बिहीबार ३२ पानेजु संघ, ज्योतिषी, गुठियारलगायत अन्य सरोकारवालाहरू मिलेर ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसमक्ष ध्यानाकर्षण गर्न पुगेका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले सरकारले तय गरेको मापदण्डमा रहेर रथारोहण गर्न सकिने बताए । ‘भीडभाड नगरी सामाजिक दूरी कायम, मास्क र सेनिटाइजर प्रयोग अनिवार्य गर्नुपर्‍यो,’ उनले भने ।

मत्स्येन्द्रनाथका पुजारी कपिलदेव वज्राचार्यले रथारोहण गर्न सम्पूर्ण तयारी पूरा भइसकेको बताए । ‘बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्राशन, उपनयन, चूडाकर्म, इही (बेल विवाह) र गुफा राख्ने दसकर्म सबै विधि सम्पन्न भइसकेको छ,’ उनले भने । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख राजन भुजुले गुरुजु पल्टनलाई पनि जानकारी गराइसकेको बताए । लकडाउनका कारण चैतमा गरिएको महास्नानमा भने हनुमानढोका दरबारस्थित शार्दूलजंग गुल्मबाट आउनुपर्ने गुरुजु पल्टन उपस्थित भएनन् । रथारोहणमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग भने झल्लरवाल छत्रले ओढाएर सम्मिलित गराउने परम्परा छ । मत्स्येन्द्रनाथ जात्रा सञ्चालनका लागि शुक्रबार नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुरले सरोकारवालासँग अन्तर्क्रिया गरेको छ ।

प्रकाशित : श्रावण ९, २०७७ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?