पत्‍नी हत्याका दोषीलाई जेलमुक्त गरेको विरोधमा प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइरालालाई जेलमुक्त गरेको विरोधमा विवेकशील नेपाली दलकी रञ्‍जु दर्शना लगायतले शुक्रबार साँझ नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । त्यसक्रममा रन्जुलगायत केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले 'विधि विधान पाखामा, हत्यारा काखामा', 'न्याय खोज्‍न न्यायापालिका जान अब डर भो, यो देशमा न्याय दिलाउने अब भर गर्नु कसको', 'न्यायपालिकामा दलीय भागबन्डा बन्द गर' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


सर्वस्वसहित जन्मकैदको सजाय पाएका पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका कोइराला बिहीबार जेलमुक्त भएका थिए । केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।


कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।


सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कैद छुट दिएको हो । श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो ।

प्रकाशित : श्रावण ९, २०७७ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्

सांसद कोषको रकमबाट प्रवेशद्वारमा राष्ट्रिय झन्डा

भूषण यादव

वीरगन्ज — संसदीय विकास कोषबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले मुलुकको मुख्य नाका वीरगन्जमा नेपालको राष्ट्रिय झन्डासहितको 'फ्ल्याग टावर' निर्माण गराएका छन् । एक सय दस फिट उचाई भएको टावरमा ३० फिट लामो राष्ट्रिय झन्डा ठड्याइएको छ । 

शंकराचार्यद्वार अगाडि १३ लाख ६२ हजार रुपैयाँमा निर्माण गरिएको झन्डासहितको टावर सांसद यादवले शुक्रबार उद्घाटन गरे । संसदीय पूर्वाधार विकास कोषबाट १० लाख र बाँकी अपुग रकम आफ्नो तलब भत्ताको रकमबाट फ्ल्याग टावर निर्माण गरिएको सांसद यादवले जनाए ।

मुलुकको मुख्य प्रवेशद्वारमा राष्ट्रको गौरव र सम्पूर्ण नेपालीको पहिचान झल्कने राष्ट्रिय झन्डा स्थापना गरेर गर्वको अनुभूति भएको उनले बताए । उनका अनुसार खुला सीमाका कारण वीरगन्ज र रक्सौललाई छुट्याउन नसक्ने भएकाले नेपाल प्रवेश गर्ने भारतीय र अन्य विदेशीलाई आफू नेपालमा प्रवेश गरेको अनुभूति यो राष्ट्रिय झन्डाले दिने छ ।

‘कुनै पनि विदेशी नागरिक जब नेपाल प्रवेश गर्छ, तब देशको झन्डा हेरेर थाहा पाउँछ कि नेपाल प्रवेश गरिसकेँ,’ सांसद यादवले भने, ‘मूख्य प्रवेशद्वारमा देशको झन्डा स्थापना गरेर गौरव ठानेको छु । केहीले मधेस र मधेसीमा राष्ट्रियता कम हुन्छ भन्ने आरोप लगाउँछन् । उनीहरुलाई देखाउन चाहन्छु कि मधेसीमा कति राष्ट्रियता छ,’ उनले भने, ‘यो देशको सीमा जोगाउने नै मधेसी हुन् ।’ सानो कामले पनि मुलुक र जनताको शान बढाएको उनले बताए ।

‘हामीले मधेस आन्दोलन पनि यही प्रवेशद्वारमा गर्‍यौं,’ सांसद यादवले भने, ‘हामी माथि अनेक प्रहार भयो, उनीहरुलाई पनि देखाउन चाहन्छु । हामी मधेसी राष्ट्रिवादी हौं, पहिचान र अधिकारका लागि आन्दोलन गरेका थियौं ।’

प्रकाशित : श्रावण ९, २०७७ १९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×