कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

घरबेटीले तारन्तार फोन गरेपछि लुकीलुकी काठमाडौं

लीला श्रेष्ठ

भक्तपुर — काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–७ फलाँटेकी जेनिसा थापामगर नयाँबजारस्थित एक गार्मेन्टमा सिलाइको काम गर्थिन् । तर, लकडाउनले कामविहीन भएपछि उनी रातारात गाउँ गइन् । 

घरबेटीले तारन्तार फोन गरेपछि लुकीलुकी काठमाडौं

झन्डै ४ महिना गाउँ बसेपछि काठमाडौंबाट घरबेटीले भाडा माग्दै तारन्तार फोन गरे । ‘घरभाडा तिर्न आउँछौ कि सामान निकाल्दिऊँ भन्दै फोन गर्छन् घरबेटी,’ उनले भनिन्, ‘दुःख गरेर जोडेको भाँडाकुँडा, ओढ्ने–ओछ्याउने छ । आउन त परिगयो ।’

उपत्यकाको पूर्वी नाका साँगामा प्रहरीको आँखा छलेर आउँदै गरेकी जेनिसाले गाडीवालाले बीच बाटोमै छाडिदिएको, भाडा पनि दसौं गुना बढी लिएको गुनासो गरिन् ।

लकडाउनमा अर्को जिल्ला छिर्न सम्बन्धित स्थानीय तहको स्वीकृतिबमोजिम जिल्ला प्रशासनले कार्यालयले पास उपलब्ध गराउने गरे पनि जेनिसाजस्ता सर्वसाधारणका लागि त्यो सहज छैन । उनीहरू नाकामा प्रहरीको आँखा छलेरै भित्रिन्छन् ।

अत्यावश्यक सामग्री ढुवानी लेखेका सवारीसाधनले महँगो भाडामा यात्रुलाई चेक प्वाइन्टसम्म ल्याएर छाडिदिने गरेका छन् । जेनिसा पनि शुक्रबार तरकारी बोक्ने ट्रकमा आएकी हुन् । सामान्य अवस्थामा फलाँटेबाट काठमाडौंको बसभाडा १ सय ९० रुपैयाँ मात्र हो । तर, उनले १ हजार ३ सय रुपैयाँ तिर्नुपरेको बताइन् । ‘गार्मेन्ट साहूले पनि काम सुरु गर्न लागेको भन्दै बोलाएको छ,’ उनले भनिन्, ‘त्यसैले बढी भाडा तिरेर पनि आइयो ।’

साँगाको चेक प्वाइन्टमा प्रहरीबाट लुकेर यसरी उपत्यका भित्रिने सर्वसाधारण दिनहुँ सयौं हुन्छन् । ‘जसरी हुन्छ यात्रुलाई उपत्यका प्रवेश गर्नु नै छ, भनसुन गरेर होस् वा विभिन्न बहाना बनाएर किन नहोस्,’ चेकप्वाइन्टमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘हामीले चेकप्वाइन्ट हेर्ने हो, चोरबाटो प्रवेश गर्नेका लागि हामीसँग केही उपाय छैन ।’ विभिन्न बहाना बनाएर उपत्यका प्रवेश गर्न खोज्नेहरूका कारण थप हैरानी खेप्नुपरेको उनले बताए ।

उपत्यका भित्रिने सवारीसाधन र यात्रुलाई नाका आइसकेपछि फिर्ता गर्नुको विकल्पमा सम्बन्धित जिल्लामै रोक्नुपर्ने प्रहरीको भनाइ छ । ‘सयौं किलोमिटर पार गरेर आइपुगेको यात्रु जसरी पनि प्रवेश गरेरै छोड्छ,’ महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले भने, ‘नाकामा खटिएको प्रहरीले सवारीसाधनको पास हेर्नु कि चोरबाटो हिँडेका यात्रुको पछि लाग्नु ?’

बढी भाडा लिएर यात्रु बोक्नेलाई कारबाही

महानगरीय प्रहरी वृत्त जगातीले बढी भाडा लिएर यात्रु बोक्ने चालकलाई कारबाही अघि बढाएको छ । प्रहरीका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका–१ का २६ वर्षीय प्रेमबहादुर दर्जीलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

त्यसै गरी सवारीसाधन पासको दुरुपयोग गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्को व्यक्तिको पास बोकेर उपत्यका प्रवेश गर्न खोज्ने काभ्रेपलान्चोक, नमोबुद्ध नगरपालिका–७ का १९ वर्षीय मधुसूदन घोरासैनी, बनेपा नगरपालिका–९ मङ्गलगाउँका ३१ वर्षीय राजकिरण आलेमगर, २४ वर्षीय पृथ्वी आलेमगर र बनेपा–३ का ४२ वर्षीय विकास शाही पक्राउ परेका हुन् ।

प्रकाशित : श्रावण ४, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?