‘बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन...’

सडकमा गीत गाउन निस्कन थाले दृष्टिविहीन
सीमा तामाङ

ललितपुर — ‘बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन । नआउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन ।’ छेवैकाे स्पिकरमा ट्रयाक बजाएर यही गीत गाउँदै थिए ललितपुरका ४५ वर्षीय मखन पहरी । बुधबार मध्याह्नतिर लगनखेलस्थित केके मार्ट अगाडि फुटपाथमा बसेर उनी यस्तै गीतहरु पालैपालो गाइरहेका थिए । 

‘बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन...’

उनको अगाडि एउटा स्पिकर र त्यसमाथि प्लास्टिकको टोकरी थियो । टोकरीमा बटुवाहरु आफ्नो इच्छा अनुसार ५/१० रुपैयाँ पैसा हाल्थे । उनका अगाडि बसेर गीत सुन्थे । तर त्यसबारे पहरी अनभिज्ञ थिए । किनकी उनी आँखा दैख्दैनन् । गीतको धुन बज्न थालेपछि उनी टोकरीका पैसा जम्मा गर्थे । धुन सकिएपछि पुनः हातमा माइक समातेर गीत गाउन थाल्थे । मध्याह्नको घाममा बटुवाहरु छाता ओढेर हिँड्न थाले पनि उनी पसिना पुछ्दै घाममा बसेर गीत गाइरहेका थिए ।

पहरीे एक सातादेखि दैनिक लगनखेल आएर सुरिला धुन भर्न र गीत गाउन थालेका छन् । लकडाउनमा शान्त उपत्यकामा चहलपहल बढेसँगै आफ्नो परिवारको पेट पाल्नैका लागि फुटपाथमा गीत गाउन थालेको उनले सुनाए । गोदावरी बस्ने पहरी दुई दिन हिँडेर नै लगनखेल आइपुगे । लकडाउन अगाडि दैनिक बिहान गोदावरीबाट बस चढेर रत्नर्पाक पुग्थे । अहिले भने उनी प्रहरीलाई भनेर पानी तथा ढुवानीका गाडीमा चढेर आउने जाने गरिरहेका छन् ।

‘गोदावरीबाट बस चढेर आउँदा त ४५ मिनेट लाग्छ, लखगनखेल आइपुग्न,’ उनले भने, ‘हिँडेर आउँदा त दुई/तीन घन्टा लाग्छ नि, के गर्नु लकडाउन भन्दै बस्ने स्थिति पनि छैन ।’ गोदावरी नगरपालिकाले दिएको दाल चामलले तीन महिना बितेको उनले बताए ।

‘अब राहतमा आएको रासन र पकाउन ग्यास पनि सकिन लाग्यो,’ उनले भने, ‘त्यसको लागि त तयारी गर्नै पर्‍यो नि । त्यहि भएर एक सातादेखि फेरि गीत गाउन थालेको छु ।’ ११ वर्षदेखि फुटपाथमा गीत गाउन थालेका पहरीदे ९ कक्षासम्म पढेका छन् । उनकी श्रीमती मालतीले १२ कक्षासम्म पढेकी छिन् । पढे पनि काम नपाएपछि मखन सडकमा गीत गाउँछन् भने मालती लाजले पनि जान नमान्ने मखनले बताए । ‘तर १२ कक्षासम्म पढे पनि केही काम पाइनन्,’ उनले भने, ‘यसरी फुटपाथमा बसेर गीत गाउँदा चिनेजानेकाले देख्छन् भनेर उनी निस्किन्निन् ।’ उनीहरुका दुई छोरा र एक छोरी छिन् । जेठा छोरा १२ कक्षा, माइली छोरी १० कक्षा र कान्छा छोरा १ कक्षामा पढ्दैछन् । ‘हामीलेजस्तो दुःख नपाओस्, अरुको हेला सहन नपरोस् भनेर सडकमै गीत गाएर भएपनि पढाउँदैछु,’ उनले भने, ‘बच्चाहरुको पढाइसकेपछि केही गर्लान् भन्ने आशा छ ।’ नगरपालिकाले साउनमा भत्ता आउँछ भन्थ्यो त्यो पनि आउने/नआउने थाहा नभएको उनले बताए । ‘अब नगरपालिकाले पनि राहत दिन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘अहिले घरबाटै निस्कन मान्छेहरु डराउँछन्, तर पनि सय/दुई सय रुपैयाँ जम्मा हुन्छ ।’

पहरीजस्तै दाङका नेत्र कोइराला पनि सडकमा गीत गाउन निस्कन थालेका छन् । कोइराला ६ जना साथीहरुको समूहमा नारायणटार/जोरपाटी चोकमा गीत गाउन थालेका हुन् । ९ वर्षदेखि नै काठमाडौंका सडकमा गीत गाउन थालेका कोइराला भन्छन्, ‘लकडाउन अगाडि रत्नपार्क, सुन्धारा, न्युरोड, कोटेश्वर विभिन्न चोकमा बसिन्थ्यो, अहिले त्यस्तो छैन् ।’ मानिसहरु बाहिर निस्किने समय हेरेर गीत गाउन निस्किने उनले बताए । कोइरालाको परिवारमा अपांगता भएकी श्रीमती पार्वती र १६ महिनाकी छोरी छन् । नारायणटार चोकमा मासिक ३५०० रुपैयाँ कोठा भाडा तिरेर बस्ने कोइरालाले लकडाउन अवधिको भाडा तिर्न सकेका छैनन् । ‘वडा कार्यालय र विभिन्न संस्थाहरुले दिएको दाल, चामलको प्याकेट राहतले लकडाउन अवधि धाने पनि अब राहत आउन छाडिसक्यो,’ उनले भने, ‘लकडाउन अवधिमा एउटा संस्थाले ग्यास र पानी पनि ल्याइदियो, त्यसले पनि बिदा माग्ने बेला भइसक्यो ।’ बच्चा बिरामी हुँदा औषधि पनि किन्न नसक्ने भएकाले नजिकैका चोकमा गीत गाउन निस्केको उनले सुनाए ।

सरकारले चैत ११ गतेदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी गरेको लकडाउन खुकुलो भएसँगै गुजारा चलाउनकै लागि भएपनि दृष्टिविहिनहरु बाहिर निस्कन थालेका हुन् ।

प्रकाशित : श्रावण १, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?