बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

रासस

काठमाडौँ — कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौं रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पुर्‍याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

धादिङ घर भई काठमाडौं तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले शनिबार राति ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीविरुद्ध सङ्गठित अपराधसमेतको कसुरमा अनुसन्धान थालिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

तामाङलगायतको समूहले गत असोज ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा अनधिकृतरुपमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर गरी त्यसबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिन सफल भएको थियो । यस्तै श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाख रुपैयाँको चेक पेस गरेको अवस्थामा शंका लागि सिस्टम परीक्षण गर्दा उक्त कैफियत फेला परेको थियो ।

आरोपी सुनिता श्रेष्ठसमेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कुल ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो ।

महाशाखाले सोही दिन श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जालाई पक्राउ गरी सङ्गठित अपराध कसुरमा अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको थियो । तर तामाङ भने फरार हुँदै आएका थिए ।

प्रकाशित : असार २१, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?