कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विद्यार्थीको गृहकार्य जाँच्‍न घरदैलो

लीला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण नगरपालिका–९ सौडोल ताथलीस्थित देवी मावि यूकेजीमा अध्ययनरत कुसुम, कक्षा ३ मा अध्ययनरत सिजोन, कक्षा ८ मा अध्ययनरत रिजोन र समृता बस्नेत विद्यालय जाने जस्तै गरी कलम, कापी, किताब बोकेर घर बाहिर निस्किए ।

विद्यार्थीको गृहकार्य जाँच्‍न घरदैलो

गृहकार्य जाँच्न आँगनमै पुगेकी शिक्षिका सरिता थुयाजूले झोलाबाट स्यानिटाइजर निकालिन् र विद्यार्थीलाई हात थाप्न आग्रह गरिन् । विद्यार्थीले पनि हातमा स्यानिटाइजर दल्दै टेबुलमा बसेर किताबकापी निकाले ।

देवी माविबाट विद्यार्थीको गृहकार्य जाँच्न पुगेका शिक्षिका सरिता थुयाजू, सिर्जना कार्की, कविता राउत, शिक्षकहरु सहदेव साखकर्मी, हरिशरण दुलाल र धु्रव खत्रीलाई सिजोनका अभिभावकले टेबुल/कुर्सी तयार गरिदिए । शिक्षक/शिक्षिकाले पालैपालो आ–आफ्नो विषयगत पुस्तक हेर्दै गृहकार्य जाँच्ने र अर्को एक साताका लागि गृहकार्य दिए । झण्डै आधाघण्टा ती विद्यार्थीलाई शिक्षकहरुले अभ्याससमेत गराए ।

अभिभावकले भने विद्यार्थीलाई धेरै गृहकार्य दिन शिक्षक/शिक्षिकालाई आग्रह गरिरहेका छन् । ‘घरमा पटक्कै पढ्न मान्दैन, पढ भन्यो भने होमवर्क सकिसक्यो भन्दै टार्छ,’ अभिभावक राज बस्नेतले भने,‘टिभी हेरेर बच्चाले केही बुझ्दैन । अक्षर धेरै सानो भयो । विद्यालय जान पाए बच्चा सुध्रिन्थ्यो ।’

शिक्षक/शिक्षिकाहरु विद्यार्थीलाई टिभी हेरेर पढ्दा नबुझेका कुरा फोन, म्यासेन्जरमा सोध्न सक्ने बताउँछन् । ‘विद्यार्थीलाई विषयगत कापी छुट्याएर होमवर्क गर्न र टिभीमा पढाएका कुरा नबुझे फोनमा शिक्षकलाई सोध्न सुझाव दिन्छौं,’ शिक्षक सहदेव साखकर्मीले भने,‘प्रत्येक विद्यार्थीलाई विषयगत शिक्षक/शिक्षिकाको फोन नम्बर उपलब्ध गराएका छौं, विद्यार्थीको सम्पर्क नम्बर पनि शिक्षक/शिक्षिकासँग छ ।’ पढाइमा ध्यान दिने विद्यार्थीले शिक्षकलाई फोन गरेर समस्या बताईरहेको उनले बताए ।

विद्यार्थीहरु भने टिभी, रेडियोको सिकाइ उपलब्धिमूलक नभएको बताउँछन् । ‘टिभीको कक्षा प्रस्ट छैन, बुझिँदैन । अक्षर निकै मसिनो भयो,’ विद्यार्थी समृता बस्नेतले गुनासो गरिन्,‘हेर्दाहेर्दै कक्षा सकिन्छ, नोट गर्न सकिँदैन ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत्र ११ बाट लकडाउन घोषणा गर्‍यो । वार्षिक परीक्षा सकाएर घर बिदामा बसेका विद्यार्थीहरु अझै विद्यालय जान पाएका छैनन् । देवी माविका प्रधानाध्यापक राजाराम छुकांका अनुसार विद्यालयले वार्षिक परीक्षाको रिजल्टको मार्कसिट शिक्षक/शिक्षिकाको म्यासेन्जरमार्फत् मगायो । ‘रिजल्ट प्रकाशित पनि उसैगरी गर्‍यौं,’ उनले भने,‘जेठ १ गतेबाट विद्यार्थीको घरघरमा किताब पुर्‍यायौं र घरदैलो अभियान थाल्यौं ।’ विद्यालयले विद्यार्थीको भर्ना भने लिएको छैन । ‘नियमित विद्यार्थीको नाम दर्ता गर्दै पाठ्यपुस्तक बाँड्यौं,’ शिक्षक जुजुभाइ छुकांले भने, ‘विद्यालयमा भर्ना गराउन चाहने नयाँ विद्यार्थीको नामावली संकलन गर्दै पाठ्यपुस्तक वितरण गरेको छ ।’

विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा १० सम्मका ६ सय १४ विद्यार्थी र ५२ शिक्षक/शिक्षिकालाई तहगत रुपमा १४ समूहमा विभाजित गरेर घरदैलो कार्यक्रम सुरु गरेको छ । विद्यार्थी संख्या, भौगोलिक क्षेत्रको आधारमा शिक्षक समूह बनाएको समेत प्रधानाध्याक छुकांले बताए । ती शिक्षक/शिक्षिका सातामा एकपल्ट विद्यार्थीको घरदैलोमा पुग्छन् ।

शिक्षक/शिक्षिकाले विद्यार्थीको घरघरमा पुगेर गृहकार्य जाँच्ने, गृहकार्य दिने, विद्यार्थीको समस्यालाई हल गर्ने गरेको छ । विशेष गरी गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक/शिक्षिकाको फोन नम्बर दिने र जिज्ञासा राख्न विद्यार्थीलाई सुझाव दिएको छ । विद्यार्थीले कक्षाकोठामा उपस्थित भएर कक्षा लिन नपाउँदा पढाइ कमजोर हुने देखिएकाले शिक्षक/शिक्षिकालाई परिचालन गरेको उनले बताए । शिक्षकहरुले विद्यार्थीको घरघरमा पुगेर विद्यार्थीलाई सिकाईमा प्रोत्साहन गरिरहेका छन् ।

विद्यालयले सरकारले तयार गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ बमोजिम’ विद्यार्थीको निगरानी गरेर सिकाइ प्रणाली थालनी गरेको जनाएको छ । २०२५ मा स्थापित देवी माविले ३०औं ब्याच एसएलसी/एसईई पार गरिसकेको छ । उक्त विद्यालय नगरको उत्कृष्ट विद्यालयमा पर्ने शिक्षकहरु बताउँछन् ।

प्रकाशित : असार २०, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?