कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रशासनको अनुमतिबिना मच्छिन्द्रनाथको रथ निर्माण

बन्दाबन्दीको बेला कुनै जात्रा मेला गर्न पाइँदैन : प्रजिअ
गणेश राई

ललितपुर — कोभिड–१९ को प्रकोप फैलिन नदिन लकडाउन जारी भएपछि रोकिएको रातो मच्छिन्द्रनाथ रथ अन्योलकाबीच फेरि बन्दैछ । गुठी संस्थानको पहल र स्थानीय जातीय संघसंस्थाको अगुवाईमा अघि बढेको हो । जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि स्थानीयवासी जुटेका हुन् । 

विज्ञले अरु सबै पेसा, व्यवसाय, सामान्य जनजीवनलाई बन्दाबन्दीमा राखेर जात्रा सञ्चालन गर्न नहुने भनेका छन् । संस्कृतिविद्ले आठ सय वर्षअघि रातो मच्छिन्द्रनाथ रथ जात्रा शरद ऋतुमा मनाइन्थ्यो र १४औं शताब्दीदेखि वसन्त ऋतुमा मनाउन थालिएकाले बर्खामासमा यो जात्रा मनाउन अव्यवहारिक हुने बताएका छन् ।

पुल्चोकस्थित मूलसडक छेउमा रातो मच्छिन्द्रनाथको रथ र मंगलबजारमा मिननाथको रथ निर्माण भइरहेको छ । निर्माण कार्यमा परम्परादेखि खटिदै आएका बाराही गुठीका कर्मीहरू जुटेका छन् । दसौं दिने शुक्रबार मच्छिन्द्रनाथ रथको सबैभन्दा माथिल्लो सातौं तला बनाउने काम भएको छ ।

ललितपुर महानगरपालिकाले निर्माणमा खटिएका जनशक्तिलाई मास्क, स्यानिटाइजर, ज्वरो नाप्ने थर्मल गन उपलब्ध गराएको छ । ‘मन्छिन्द्रनाथ जात्रा सञ्चालन गर्ने निकाय गुठी संस्थान हो र ज्यापु समाज सबैभन्दा जिम्मेवार छ,’ कोरोना भाइरसको त्रास छँदै स्थानीय अघि बढेको उल्लेख गर्दै मेयर चिरीबाबु महर्जन भन्छन्, ‘कुनै पनि वर्ष नरोकिकन चलाइएको जात्रा हो । त्यो अर्थमा ऐतिहासिक र धार्मिक आस्था चुलिएको छ । महानगरले धार्मिक आस्थाको भावनालाई बाँध्नका निम्ति मात्र सामान्य सहयोग गरेको छ ।’

लकडाउन जारी भएपछि रातो मच्छिन्द्रनाथ जात्रा सञ्चालनबारे केन्द्रीय सरकारलाई जानकारी गराएको र क्षमा पूजा गरेर सारिएको मेयर महर्जनको कथन छ । ‘जात्राको आधिकारिक तिथि मिति पार भइसक्यो,’ जनभावनालाई नकार्न नमिल्ने उल्लेख गर्दै उनले भने, ‘अहिले ललितपुरका अठार–बीसवटा खलपुच जातीय संस्थाहरूको निर्णयले अहिले रथ बन्दैछ । सम्भव भएसम्म सामाजिक दूरी कायम गरे, गराएर सञ्चालन गर्नु पर्ने भन्ने भएको छ ।’ तिथिअनुसार वैशाख शुक्ल प्रतिपदाका दिनमा मच्छिन्द्रनाथ देवतालाई रथारोहण गर्ने परम्परा छ ।

तस्बिर : गणेश राई/कान्तिपुर

ललितपुर जिल्ला प्रशासन कार्यालय प्रमुख नारायण भट्ट रथजात्रा बारेमा आफूलाई औपचारिक जानकारी नरहेको बताए । ‘अहिले यो बन्दाबन्दीको बेला कुनै जात्रा मेला केही गर्न पाइँदैन, सरकारले रोकेको छ,’ प्रमुख जिल्ला अधिकारी (सीडीओ) भट्टले कान्तिपुरसित भने, ‘मैले ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन र गुठी संस्थालाई नगर्नोस् भनेर प्रष्ट भनिसकेको छु । मलाई कुनै औपचारिक जानकारी छैन ।’

गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले दश दिनदेखि रथ निर्माण कार्य जारी रहेको बताए । ‘धार्मिक कार्य हो, स्थानीय जनता जागरुक भएर रथ निर्माण कार्य अघि बढेको हो,’ ज्यापू समाजलगायत संघसंस्था र महानगरको साथ रहेको उल्लेख गर्दै प्रमुख भुजुले भने, ‘अब पाँच–सात दिनभित्र रथ निर्माण सकिन्छ । त्यसपछि ज्योतिषले साइत हेरेपछि देउतालाई विराजमान गराइन्छ ।’ भौतिक दूरी कायम गरेर रथजात्रा गरिने उनले जनाए ।

ज्यापू समाजका अध्यक्ष तथा पूर्वसभासद चन्द्र महर्जनले गुठी संस्थानको नेतृत्वमा रथ बनाइरहेको बताए । ‘गत जेठ १० गते विभिन्न जात्रामा संलग्न गुठी, रकमीसँग बैठक बसेर रथजात्रा गर्ने निर्णय भएको हो,’ उनले भने, ‘त्यसअघि सीडीओ, गृहसचिव हुँदै उपप्रधानमन्त्रीसम्मलाई भेट्यौं । उहाँहरूले हुँदैन भन्नु भयो । तर जनताले नमानेपछि हामी जुटेका हौं ।’ मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवताका रूपमा लिइन्छ ।

लाखौं मानिसको सहभागितामाझ रथजात्रा मनाइन्छ । कोभिड–१९ को कारण रथ तान्ने र बाजा बजाउनेहरूलाई मात्र सहभागी गराउने योजना रहेको अध्यक्ष महर्जन बताए । ‘भारतमा पनि लकडाउनकै बेला त्यसरी नै जात्रा पर्व मनाएका रहेछन्,’ केही दिनभित्र बैठक बसेर विकल्पसहित निर्णय गर्ने उल्लेख गर्दै उनले भने, ‘लाखौं सहभागी गराउनु हुन्न । बरु टेलिभिजन, रेडियोबाट प्रत्यक्ष प्रसारणको व्यवस्था गर्ने कि भन्ने पक्षमा छौं ।’

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

ललितपुरका संस्कृतिविद् हरिराम जोशीका अनुसार आठ सय वर्षअघि रातो मच्छिन्द्रनाथ रथ जात्रा शरद ऋतुमा मनाइन्थ्यो र १४औं शताब्दीदेखि वसन्त ऋतुमा मनाउन थालिएको हो । ‘अहिले न वसन्त ऋतु हो या त शरद ऋतु नै,’ जात्रामा दशौं हजार मानिसको उपस्थिति रहने र त्यसैमा यसको महत्त्व रहने उल्लेख गर्दै जोशी भन्छन्, ‘महामारीको बेला जनजीवन ठप्प पार्ने तर यत्रो जात्रा सञ्चालन स्वीकृति दिनु व्यवहारिक छैन ।’ जात्राको तिथि मिति घर्किसकेको उनले उल्लेख गरे ।

भक्तपुरवासी संस्कृतिविद् प्राध्यापक पुरुषोत्तमलोचन श्रेष्ठ इतिहासमा उल्लेख महामारीबारे जात्राको चर्चा नरहेको बताए । ‘इतिहासमा पहिलोपटक काठमाडौं उपत्यकाका महत्त्वपूर्ण जात्राहरू रोकिए,’ यसलाई अनिष्ट हुने जनभावना भएपनि सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘सारा संसार एकान्तबास र सामाजिक दूरी राखेर बसेको स्थिति छ । भक्तपुरका बिस्केटजात्रा, काठमाडौंको इन्द्रजात्रालगायत रोकिए । मच्छिन्द्रनाथ जात्रा पनि अछुतो रहेन । महामारीका त्रासमा जात्रा मनाउनु दूरदर्शितापूर्ण हुन्न ।’

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

पत्रकार सुरेशकिरणका अनुसार कोभिड–१९ ले उपत्यकाको तीन सहरको पहिचान जनाउने जात्रापर्वहरू रोकिएको बताए । त्यसमा पाहाँचःर्‍हे (घोडेजात्रा), जनबहाःद्यः (सेतो मछिन्द्रनाथ)को रथयात्रा, साँखुको बज्रयोगिनी जात्रा, विक्रम संवत्को नयाँ वर्ष सुरुभएसँगै भक्तपुरमा विश्वप्रसिद्ध बिस्काः (बिस्केट) जात्रा रोकिए । त्यसै समयमा मनाइने टोखा र ठिमीको बिस्काः जात्रा, ठिमीको सिन्दूर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रा रोकिए । अहिले ललितपुरमा करिब डेढदेखि दुई महिनासम्म मनाइने रातो मछिन्द्रनाथको जात्रा पुनः सञ्चालनको प्रयास जारी छ । प्रकाशित : असार १९, २०७७ १७:४०

प्रतिक्रिया
पठाउनुहोस्

उपरथी शाही र सहायकरथी पुनलाई दर्ज्यानी चिह्न

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका उपरथी प्रेम शाही र सहायक रथी प्रेमबहादुर पुनलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

उपरथी प्रेम शाही र सहायकरथी प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।

मन्त्रिपरिषद्को असार १५ गतेको निर्णयअनुसार शाहीलाई उपरथी र पुनलाई सहायक रथीमा बढुवा गरिएको थियो ।

सैनिक मुख्यलयले जारी गरेको विज्ञप्तिअनुसार शाहीले युद्धकार्य महानिर्देशनालयको महानिर्देशक र पुनले प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी पाएका छन् ।

प्रकाशित : असार १९, २०७७ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×