कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महानगरको नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्यलाई प्राथमिकता

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई छुट, महानगरभित्रका व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महानगरको नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्यलाई प्राथमिकता

महानगरपालिकाले सार्वजनिक गरेको २ सय ५९ बुँदे नीति तथा कार्यक्रममा जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, आवागमन व्यवस्थापन लगायतमा केन्द्रीत छ ।

कोभिड–१९ प्रतिकार्य योजना तयार गरी महानगरपालिकामा लागू गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्फ उन्मुख भइरहेको महसुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ,’ नीति तथा कार्यक्रममा भनिएको छ,‘यस महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति छैन ।’

यद्यपि, बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटो भन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन हामी प्रयासरत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरपालिकाले कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटेल, रेष्टूराँ, सपिङमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ ।

‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसाग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाक्यले भने, ‘उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रवर्द्धन मेला आयोजना गरिनेछ ।’

‘आर्थिक समृद्धिमा पर्यटन’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवर्द्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवर्द्धन र विस्तारमा जोड दिने नीति महानगरको छ ।

महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउादै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ । कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ ।

प्रकाशित : असार ४, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?