काठमाडौं महानगरपालिकाका विद्यार्थीलाई रेडियोबाट पढाइँदै

काठमाडौँ — काठमाडौं महानगरपालिकाले मेट्रो एफएम ९४ विन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि वैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्धेश्यले महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका विद्यार्थीलाई रेडियोबाट पढाइँदै

रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । कक्षा बिहान ९ बजेदेखि बेलुका ५:३० सम्म हुने महानगरको शिक्षा विभागका शाखा अधिकृत मोतिप्रसाद भट्टराइले बताए । रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावण, पेशा व्यवसाय र प्रविधि विषय समावेश छन् । त्यस्तै कक्षा १ को एकीकृत पाठ््यक्रम अनुसारका नेपाली, अंग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश हुने उनले बताए ।

महानगरका शिक्षा विभागका अनुसार रेडियो शिक्षा कार्यक्रमलाई विस्तार र स्तरोन्नति गर्दै अनलाइनमा आधारित प्रयोगात्मक र प्रदर्शनात्मक कक्षा चलाइनेछ । त्यस्तै कार्यक्रमको मूल्याङ्कन र प्रभावकारिता बिश्लेषणका लागि प्रविधिमा आधारित प्रणाली विकास गरिनेछ । अहिलेको कार्यक्रम शैक्षिक सत्र २०७७ को अन्तिम नतिजासमेत प्रकाशन गर्ने लक्ष्यसहित सुरु गरिएको विभागको भनाइ छ ।

रेडियो शिक्षा कार्यक्रम सञ्चालन विद्यालयका शिक्षकहरुले गर्नेछ भने रेडियोकर्मीहरुले सहजीकरणको काम गर्नेछ । दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, विषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ । जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन माविका प्रधानाध्यापक रविना महर्जनले र कक्षा ७ देखि १० सम्मको संयोजन विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेललाई जिम्मा दिइएको छ ।

महानगरपालिकाका मेयर एवं शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले बुधबार राष्ट्रिय सभा गृहमा रहेको मेट्रो एफएममार्फत् रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गरेका हुन् । ‘मुलुकमा जारी लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थी भाइ–बहिनीलाई वैकल्पिक शिक्षा प्रदान गर्ने उद्धेश्यले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो,’ उनले भने, ‘यसले सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिविधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौँ ।’

रेडियो शिक्षामार्फत महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालय, ३ वटा विशेष विद्यालय र ६ सय ४३ वटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थीेहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित हुने महानगरले जनाएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७७ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?