सूर्यविनायकमा सय शय्याको क्‍वारेन्टाइन

भक्तपुर — विदेशबाट आउने आफ्ना नागरिकलाई राख्न भक्तपुरको सूर्यविनायक नगरपालिकाले १ सय शय्याको क्वारेन्टाइन बनाएको छ ।

सूर्यविनायकमा सय शय्याको क्‍वारेन्टाइन

सूर्यविनायक–१० बाँसघारीस्थित स्थानीय रोमन शिलाकारले प्लाइउड गोदाम सञ्चालनका लागि बनाएको जस्ताको टहरालाई क्वारेन्टाइन बनाइएको हो । नगरपालिकाले विदेशबाट फर्किएकालाई दुई साता उक्त क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

क्वारेन्टाइनमा दैनिक बिहान–बेलुका खाना, दिउँसो खाजाको व्यवस्था गरिनेछ । क्वारेन्टाइनमा सूर्यविनायक नगरको स्वास्थ्य शाखाका कर्मचारीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर, प्रहरी, नेपाली सेनाको समन्वयमा हेल्थ डेक्सको व्यवस्था गर्ने योजनामा उल्लेख छ । क्वारेन्टाइन सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी कर्मचारी खटिने र सफाइ कर्मचारीसमेत रहने नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइन निर्माणमा महानगरीय प्रहरी वृत्त जगाती र वीर दल गण सूर्यविनायकका कर्मचारी खटिएका छन् । क्वारेन्टाइन व्यवस्थापनका लागि नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको सूर्यविनायक–८ वडाका वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक किरण थापाले बताए ।

उनका अनुसार नगरपालिकाले तीन खण्डमा विभाजित गरी क्वारेन्टाइनको व्यवस्था गरेको छ । ‘यदि सुविधायुक्त स्थानमा क्वारेन्टाइनमा बस्न चाहनेहरुका लागि होटलहरुमा स–शुल्क बस्ने व्यवस्था छ,’ उनले भने, ‘विदेशबाट फर्किएर ‘होम क्वारेन्टाइन’ मा बस्न चाहनेका लागि नगरपालिकाको निगरानीमा घरमै राख्छौं ।’

जिल्लाका मध्यपुर थिमि, भक्तपुर र चाँगुनारायण नगरपालिकाले भने विदेशबाट फर्किने आफ्ना नागरिकको लागि क्वारेन्टाइन निर्माण गरेको छैन । ‘नगरपालिकाले आफैं क्वारेन्टाइनको व्यवस्था गर्न सक्दैन,’ भक्तपुर नगरप्रमुख सुनिल प्रजापतीले भने,‘ विदेशबाट फर्किने नागरिकले आ–आफ्नै खर्चमा होटलमा क्वारेन्टाइन बस्नुपर्छ, होटल एसोसिएसनसँग छलफल भइरहेको छ ।’

मध्यपुर थिमि नगरपालिकाले विदेशबाट फर्किन चाहने नागरिकको तीनपुस्ते विवरण संकलन थालेको जनाएको छ । ‘वडास्तरबाट विवरण संकलन सुरु भएको छ,’ नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘नगरक्षेत्रको स्थायी बासिन्दालाई नगरपालिकाको निगरानीमा होम क्वारेन्टाइन राख्ने योजना छ ।’ नगरभित्र भाडामा बस्ने नागरिकलाई भने कुनै सुविधा नदिने उनले बताए । सूर्यविनायक नगरपालिकाले भारतबाट आएका ७ जनालाई क्वारेन्टाइनमा राखेको छ ।

प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा राखिने

सरकारले विदेशबाट आएका प्रदेश नम्बर १ र २ का नागरिकलाई भक्तपुरको सल्लाघारी र राधेराधेमा राख्ने तयारी गरेको छ । वाग्मती, गण्डकी र ५ का नागरिकलाई काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरको सेल्टरमा होल्डिङमा राखेर मात्रै प्रदेशको समन्वमा सम्बन्धित जिल्लामा पठाउने तयारी गरिएको छ ।

विदेशबाट फर्कनेको समन्वय गर्न सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संयोजकको जिम्मेवारी तोकेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?