एटिएम फुटाउँदै गरेको अवस्थामा युवक पक्राउ - उपत्यका - कान्तिपुर समाचार

एटिएम फुटाउँदै गरेको अवस्थामा युवक पक्राउ 

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमी नगरपालिका–६ बाहाखा बजारस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति सजिव चित्रकारको साढे चारतले घरको भुइँतल्लामा रहेको एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक कदम्बास घर भइ मध्यपुर थिमी नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चोरी गर्न एटिएम फुटाउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी निरीक्षक राजिव गिरीको संयोजकत्वको टोलीले तामाङलाई घटनास्थलबाटै पक्राउ गरेको हो । उनको साथबाट हथौडा र स्क्रु बरामद गरेको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए । एटिएममा सामान्य क्षति पुगेको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

डब्लूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

डब्लूएचओ चीनको 'कठपुतली' बनेको आरोप
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको आरोप लगाउँदै डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका हुन् ।

अमेरिकाले यसअघि नै डब्लूएचओलाई दिँदै आएको सहयोग रोकिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई व्यापक सुधारका लागि अनुरोध गरेका थियौँ । तर उसले सुधार गर्न सकेन । आज हामी डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका छौं । अमेरिकाले डब्लूएचओलाई दिँदै आएको सहयोग वैश्विक जनस्वास्थ्यको क्षेत्रमा दिइनेछ ।’ ट्रम्पले अगाडि भने, ‘डब्लूएचओ पूर्ण रुपमा चीनको नियन्त्रणमा रहेको छ । जबकि उसले अमेरिकाको तुलनामा अत्यन्तै थोरै सहयोग गर्दै आएको छ ।’ ट्रम्पले फेरि डब्लूएचओलाई वार्षिक रुपमा करिब ४ सय ५० मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको र चीनले ‘मामुली ४० मिलियन’ सहयोग गर्ने गरेको कुरा दोहोऱ्याए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना डब्लूएचओलाई सुधारका लागि भन्दै ३० दिने अल्टिमेटम दिएका थिए । ट्रम्पले महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससलाई पत्र लेख्दै एक महिनाभित्र डब्लूएचओले आफ्नो कार्यशैलीमा ठोस सुधार नगरे सधैंका लागि सहयोग रोक्ने चेतावनी दिएका थिए । डब्लूएचको गल्तीका कारण पूरा विश्वले मूल्य चुकाउनु परेको पनि उनले आरोप लगाएका थिए । उनले डब्लूएचओले आफूलाई चीनको नियन्त्रणबाट मुक्त गरेमात्रै अमेरिकासँगको सम्बन्ध सुधार हुने बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणका बारेमा चीनले सूचना लुकाएको आरोप लगाउँदै आएका छन् । चीनले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । अमेरिका–चीनबीचको सम्बन्धमा आएको तिक्तताले विश्व स्वास्थ्य संगठनलाई थप कमजोर बनाउनुका साथै त्यसको असर वैश्विक स्वास्थ्यमा नै पर्ने देखिएको विश्लेषकहरु बताउँछन् ।

डब्लूएचओसँगको सम्बन्ध तोड्दा त्यसको असर अमेरिकालाई नै पर्ने चिकित्सकहरु बताउँछन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका पूर्वप्रमुख डाक्टर टम फ्राइडेन भन्छन्, ‘डब्लूएचओ अमेरिकाकै पहलमा स्थापना भएको हो । आज हामी त्यही संस्थाप्रति पिठ्युँ फर्काइरहेका छौं । हामी पूरा विश्वप्रति पिठ्युँ फर्काएका छौं । त्यसले हामीलाई पनि र पूरा विश्वलाई नै कम सुरक्षित बनाउनेछ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले एकल रुपमा गरेको डब्लूएचओसँग अलग हुने घोषणा कार्यान्वयन गर्न चुनौती रहेको बताइएको छ । जर्जटाउन विश्वविद्यालयकाको ‘ओ’निल इन्स्टिच्युट फर नेसनल एन्ड ग्लोबल हेल्थ ल’ का निर्देशक प्राध्यापक ल्यारी गोस्टिन राष्ट्रपति ट्रम्पले संवैधानिक अधिकारको दुरुपयोग गरिरहेको आरोप लगाए । अमेरिकी राष्ट्रपति ट्रम्पले संसद्को स्वीकृतिबिना राष्ट्रसंघीय एजेन्सीसँगको सम्बन्ध तोड्न नसक्ने उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ १७, २०७७ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×