नेवारी जनजीवन : लकडाउन हुनु र नहुनु उस्तै !

असनमा मल्लकालीन सत्तल छ । उहिले ल्हासामा व्यापार गरेर फर्किनेहरुलाई यहीँ दुई सातासम्म राखेर मात्रै घर जान दिइन्थ्यो ।
गणेश राई

काठमाडौँ — लकडाउन जारी भएयता लाखौं मानिसले काठमाडौं उपत्यका छाडिसकेका छन् । उपत्यकाका रैथाने नेवार समुदाय भने शान्त तलाउझैं लकडाउनको दिनगन्ती गरिरहेका छन् । विज्ञका अनुसार राजधानीको सबैभन्दा बाक्लो र पुराना सहरको आवासीय संरचना वास्तुमैत्री भएकाले यी समुदाय संयम छन् ।

नेवारी जनजीवन : लकडाउन हुनु र नहुनु उस्तै !

यत्तिका बाक्लो बस्तीका मान्छेमा उकुसमुकुस हुँदैन ?

इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, 'बाहिरबाट झट्ट हेर्दा सहरी जनजीवन उकुसमुकुस देखिनु स्वाभाविकै हो, तर काठमाडौं उपत्यकामा जहाँ नेवार जातिको परम्परागत बस्ती छ, त्यहाँको घरको वास्तुकलाले जनजीवन घरआँगनभित्रै रहन मद्दत गरेको छ । उनीहरूलाई लकडाउन हुनु र नहुनुमा उस्तै हुन्छ ।’

उपत्यकामा नेवार जातिको परम्परागत बस्तीका घर एकापसमा जोडिएका छन् । बाहिरबाट लहरै जोडिएको देखिए पनि भित्र भने घरैघरको माझमा खुल्ला ठाउँ राखिएका छन् । चोक र बहालहरू छन् । कतिपय घरका पछाडि साना बगैंचा पनि छन् । मौसमअनुसार कृषकहरूले ती बहालमा धान सुकाउने गर्छन् । सामूहिक भोज चलाउँछन् । समाजमा ‘३६५ दिनमा नेवारको ३६६ जात्रा र पर्व’ भन्ने पनि गरिन्छ । सार्वजनिक ठाउँमा डबली छन् । ती डबलीमा सुस्ताउने, रात्रिकालीन नाचगान र नाटक प्रदर्शन हुने गर्छन् । लकडाउनको बेला ऐतिहासिक तथा पुरातात्विक सहरका नागरिकहरू यिनै चोक, बहाल, सत्तलहरू आसपासमा समय व्यतित गर्ने गरेका छन् । अहिले भोज, जात्रा सबै बन्द छन् ।

इतिहासविद् श्रेष्ठका अनुसार १८औं शताब्दी अर्थात् नेपाल संवत् ७३६ मा नेपालमा ठूलो महामारी आएको थियो । काठमाडौं केन्द्रविन्दु रहेको त्यो महामारी ७ वर्षसम्म चल्यो । ‘त्यो महामारीले धेरै मान्छे मरेका थिए,’ उनी भन्छन्, ‘तत्कालीन राजा भास्कर मल्ल अहिलेको हनुमानढोका तिनढोलमा अहिलेजस्तै सेल्फ क्वारेन्टाइन (आफैं घरबास) मा बसेका थिए । आत्मबल थाम्नै सकेनन् । अन्तमा दरबारमा आए र महामारीको चपेटामा परेर उनी मरे । त्यसले महामारीको बेला एकान्तवास कति महत्वपूर्ण रहेछ भन्ने देखाउँछ ।’

त्यसैगरी भक्तपुरका राजा जगतप्रकाश मल्ललाई ३४ वर्षको उमेरमा बिफर रोग लागेको थियो । त्यो रोग अरुलाई नसरोस् भनेर सत्तलमा राखिएको इतिहासविद् श्रेष्ठ उल्लेख गर्छन् । महामारीको बेला बाहिर निस्किनुहुन्न भन्ने देखिन्छ । उतिखेर लामो समय चारधाम जाँदा मान्छेले आफ्नो जन्मकुण्डली चिना लिएर जान्थे । त्यो मान्छे फर्केर आउँदा बाँचेर आएकोमा हर्षोल्लास मनाउँथे । त्यसरी फर्केकालाई तत्कालै घर पस्न दिँदैनथे । सहरबाहिरै स्वागत गरेर सत्तलमा राख्ने गरिएको श्रेष्ठ बताउँछन् ।

संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार बुद्धिस्ट नेवार समुदायको घरको बनोट नै विशेष प्रकारको हुन्छ । ‘परम्परागत घरको भुइँतलामा सामान राख्ने गोदाम, दोस्रो तलामा पाहुना राख्ने, तेस्रो तलामा परिवार सुत्ने, चौथो तलामा भान्सा तथा खाना खाने र पाचौं तलामा देवताको पूजाथान रहन्छ,’ काठमाडौंकै स्थानीय बज्राचार्यले भनिन्, ‘बाहिरबाट आउने मानिस जो कोही घरभित्र प्रवेश गर्नुअघि चोखो पानीले हातगोडा धुनुपर्ने परम्परा छ । हरेक दिन चोक र बहाल सफा गरिन्छ ।’ नेवार समुदायमा एउटै घरमा संयुक्त परिवार रहने परम्परा छ । केही वर्षदेखि एकल परिवार तथा एउटा घरको तलामा बस्ने चलन आएको छ । त्यसैगरी घर भाडामा दिने चलन बढेको बज्राचार्य बताउँछिन् ।

‘महामारी आए पनि अक्षता छर्ने, सफासुग्घर भएर बस्ने चलन कायम छ,’ उनले भनिन्, ‘बाहिर कोही पनि जथाभावी निस्किएका छैनन् ।’

सरकारले चैत ११ देखि लकडाउन लागू गरेपछि केही दिन स्थानीयलाई बुझाउन गाह्रो भएको काठमाडौं महानगरपालिका–२७ का वडा सदस्य परिवेशमान बज्राचार्यले बताए । मेयर विद्यासुन्दर शाक्यले नेपाल भाषामै ‘कोरोना भाइरस’बारे सन्देश प्रवाह गरे । उनले स्थानीय भाषामा ‘ल्वय् पुनिगु’ (रोग सार्ने) भनेर सम्बोधन गरे भने वडा कार्यालयहरूले टोल–टोलमा स्वयंसेवक र सुरक्षाकर्मीलाई नेपालभाषामा माइकिङ गर्न लगाए । ‘महानगरले तरकारी किन्ने समय दिएको बेलामात्र घरका एकदुई सदस्य बाहिर निस्किनुहुन्छ,’ बज्राचार्यले भने, ‘परिस्थितिअनुसार घरभित्रै बस्नुभएको छ । नेवारहरू परम्पराप्रति बढी विश्वास राख्छन् ।’

नेपाल भाषा दैनिकका सम्पादक सुरेशकिरण मानन्धरका अनुसार नेवारहरू स्वभावगत बानी व्यवहारले धेरै घुमफिर गर्दैनन् । ‘अधिकांश व्यापारी भएकाले र घरहरू एकआपसमा जोडिएकाले आपसी कुराकानी गर्छन्,’ उनले भने, ‘अपरिचित मान्छेसँग सम्पर्क गर्दैनन् । चोक, बहालभित्र सुरक्षित छन् ।’

इतिहासविद् श्रेष्ठको भनाइमा कोराना भाइरस अस्थायी हो । ‘हामी कोरोना युगमा बाँचिरहेका छौं, प्राकृतिक सन्तुलन भएपछि चाँडै छाडेर जान्छ,’ उनले भने, ‘तर यसले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक असरहरू छाडेर जान्छ । हरेक महामारीको इतिहास हेर्दा महामारी र दुर्भिक्ष (अनिकाल) सँगसँगै आउने गरेको पाइन्छ । अनिकालमा बिउ जोगाउनु, महामारी जिउ जोगाउनु त्यसै भनेको होइन ।’ सहरमा आउने संकटलाई सरकारले विशेष ख्याल गर्न पनि उनले सुझाए ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार नेवार जातिको जनसंख्या १३ लाख २२ हजार रहेको छ । त्यसमध्ये ४५ प्रतिशत अर्थात् ६ लाखभन्दा बढी जनसंख्या काठमाडौं उपत्यकामा रहेको नेवाः देय दबूका अध्यक्ष नरेश ताम्राकार बताउँछन् । ‘उपत्यकाका आदिवासी नेवारको विशिष्ट मौलिक पहिचान छ,’ उनले भने, ‘सहरीकरणको चाप परेर जग्गाजमिन नभएका र आर्थिक रूपमा पहुँच नभएका पनि उत्तिकै छन् ।’

सरकारले लकडाउनको घोषणा गरेलगत्तै १८ नगरपालिका र महानगरपालिकाको छाता संस्था उपत्यका नगरपालिका फोरम, काठमाडौंले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध लड्न आह्वान गरेको छ । घर बाहिर नजाने, समूहमा गफ गर्न नजाने भनेर उर्दी जारी गरेको छ । काठमाडौं, भक्तपुर र पाटनलगायत ऐतिहासिक सहरका समुदाय बाहिर निस्किएका छैनन् ।

मल्लकालीन क्वारेन्टाइन सत्तल

काठमाडौंको असनस्थित अन्नपूर्ण मन्दिरसँगै दक्षिणतर्फ एक सत्तल छ । त्यसलाई ‘यिताचपाः’ चिनिन्छ । यो सत्तल मल्लकालीन सम्पदाका रूपमा लिइन्छ । गुठी संस्थानको स्वामित्वमा रहेको यस भवनको भुइँतलामा पसल र माथिल्लो तला ‘अन्नपूर्ण ज्ञानमाला भजन खलः’ रहेको छ ।

उहिले काठमाडौंका तुलाधर, बज्राचार्य, शाक्य र धाख्वाले ल्हासाको व्यापार गर्थे । श्रेष्ठले कुतीसम्म व्यापार गर्थे । ती व्यापारीलाई आवातजावत गर्न धेरै महिना र वर्षौं लाग्थ्यो । काठमाडौं फर्केपछि उनीहरुलाई यही सत्तलमा दुई साता बस्न लगाइन्थ्यो ।

‘अहिले हामी कोरोना लागेकालाई क्वारेन्टाइनमा राखेजस्तै त्यही सत्तलमा बसाइन्थ्यो,’ असनका स्थानीय व्यापारिक घरानाका सदस्य दीपक तुलाधर भन्छन्, ‘हाम्रा पुर्खाहरू जोजो ल्हासाबाट फर्किन्थे सत्तलमा दुई हप्ता बसेरमात्र घर प्रवेश गराइन्थ्यो ।’ सन् १९५९ देखि ल्हासा व्यापार टुटेको उनले जनाए । 'हाम्रै समयमा पनि उपत्यकाबाहिर घुमेर आएपछि ‘खालु’ (तितो जडिबुटी) पानीमा डुबाएर रस खुवाइन्थ्यो,’ उनी सम्झिन्छन् ।

इतिहासविद् मोतीलक्ष्मी शाक्यका अनुसार ल्हासाबाट फर्किनहरूको शरीर सुन्निएको हुनथ्यो । त्यसलाई पानीरोग भनिन्थ्यो । ल्हासाबाट फर्किएका व्यापारीलाई सत्तलमै उपचार गराइन्थ्यो । यहाँको हावापानीमा घुलमिल गर्न सक्ने भएपछि मात्र घर फर्किन दिइन्थ्यो ।

प्रकाशित : जेष्ठ १३, २०७७ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?