कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवजात शिशुको हत्या, आमा पक्राउ

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवजात शिशुको शव फेला परेको छ । आमाले नै शिशुको हत्या गरेर फालेको अनुसन्धानमा खुलेको छ ।

उदयपुरको उदयपुर गढी गाउँपालिका–१ घर भई सूर्यविनायक–५ घलाँते बस्ने २२ वर्षीया रमिला राईले शिशुको हत्या गरेकी हुन् । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनालसमेत नछुट्टिएको अवस्थामा शव फेला पारेको थियो ।

अनुसन्धान गर्दै जाँदा आमाले नै शिशुको मुखमा कपडा कोचेर हत्या गरेको खुलेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले बताए ।

प्रहरीले रमिलालाई नियन्त्रणमा लिएको छ । २१ महिने छोरीसमेत रहेकी उनले ४ दिनअघि शिशु जन्माएको र हत्या गरी फालेको स्वीकार गरेकी छन् ।

श्रीमान्सँग राम्रो सम्बन्ध नभएको र पहिलेकै छोरीलाई राम्ररी पालनपोषण गर्न नसकेकाले नवजात शिशुको हत्या गरेको उनले बयान दिएकी छन् । रमिलाले चार वर्षअघि घलातेस्थित एउटै घरमा डेरामा बस्ने मिलन मगरसँग बिहे गरेकी थिइन् । तर जेठी छोरी गर्भमा आएपछि मिलनको पहिल्यै बिहे भइसकेको थाहा पाइन् । उनका अनुसार सुत्केरी हुने दिन नजिकिँदै गर्दा मिलन लकडाउनअघि नै उनीहरूलाई छोडेर उदयपुर गए । उनी अझै फर्किएका छैनन् ।

पतिपत्नीको सम्बन्ध राम्रो नभएपछि नियोजित रूपमै शिशुको हत्या गरेर फालेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । प्रहरीले रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?