भक्तपुरका संक्रमितको परिवारको कोरोना रिपोर्ट नेगेटिभ
भक्तपुर — भक्तपुरका कोरोना संक्रमित पुरुषको परिवारसहित १२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका ती पुरुषको ११ जना परिवार र १ स्थानीयको रिपोर्ट नेगेटिभ आएको हो ।
भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषमा गत मंगलबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । उनी काठमाडौं महानगरपालिकाका सवारी चालक हुन् ।
बुधबार ती संक्रमितको ११ जना परिवार सदस्य र प्रत्यक्ष सम्पर्कमा रहेका १ जना गरी १२ जनाको ‘नोजल स्वाब’ संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।
यसैबीच भक्तपुर नगरपालिकाका ७१ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाले र्यापिट डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गराउँदा २ जना कर्मचारीमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि जनप्रतिनिधि, कर्मचारीलगायत १ सय ४३ को पीसीआर परीक्षण गराएको थियो ।
जसमध्ये ७१ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । अन्यको रिपोर्ट आउन बाँकी रहेको वडा नम्बर ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए । आरडीटी रिपोर्ट पोजिटिभ आएका दुवैजना कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
जनप्रतिनिधि र कर्मचारीको कोरोना भाइरस परीक्षणका क्रममा शुक्रबार वडा नम्बर ९ की वडा महिला सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित महिलालाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य गरेको नगरपालिकाले जनाएको छ । कोराना भाइरस संक्रमण पुष्टि भएकी महिलाको परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहेका १९ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
प्रकाशित : जेष्ठ १२, २०७७ १४:२६