२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लकडाउनमा कौसीखेती

लकडाउनमा आयातित तरकारीप्रतिको निर्भरता घटाउन र घरबाट निस्कने फोहरमा कमी ल्याउन ललितपुर महानगरले कौसीखेतीलाई प्रोत्साहन गरिरहेको छ 
सीमा तामाङ

ललितपुर — लकडाउनका कारण मानिसहरू घरभित्रै छन् । घरभित्रै पनि उनीहरू सक्रिय छन् । कोही घर सजावटमा व्यस्त भएर त कोही नयाँनयाँ परिकार बनाएर पट्यार भगाउँदै छन् । अनि कसैले चाहिँ यो फुर्सदलाई कौसीखेतीमा उपयोग गरेका छन् ।

लकडाउनमा कौसीखेती

तिनैमध्ये पर्छिन् ललितपुर, चाकुपाटकी सबिना महर्जन । पाँच वर्षदेखि कौसीखेती गर्दै आएकी उनले यसपालि काँक्रो, बोडी लौकालगायत तरकारीसँगै फलफूल तथा आलुसमेत रोपेकी छिन् । लकडाउनको अवधिमा उनी गैरसरकारी संस्थाले अनलाइनमार्फत दिएको कौसीखेतीसम्बन्धी तालिममा पनि सहभागी भइन् ।

ललितपुर महानगरपालिका कार्यालयमा कार्यरत महर्जन भन्छिन्, ‘बेमौसमी भएकाले होला आलु सानो–सानो फल्यो तर किनेको भन्दा आफैंले फलाएको मिठो लाग्यो ।’ अब फलफूलका बिरुवा थप्ने तयारीमा छिन् उनी । ‘पहिले एक्लै खेती गर्थे, अहिले श्रीमान् पनि सहयोग गर्नुहुन्छ,’ उनले भनिन् । कौसीखेतीमा रमाउँदा उनलाई लकडाउनका ६० दिन बितेको पत्तै छैन । छरछिमेकीले पनि अहिले कौसीखेती गरिरहेको उनले बताइन् ।

ललितपुर महानगरपालिकाका अनुसार लकडाउनमा अधिकांश मानिस कौसीखेतीतर्फ आकर्षित भएकाले तरकारीको बिउको माग बढेको छ । ‘तरकारीका बिउ र मलको माग बढ्दै गएको छ,’ कृषि शाखाका प्रमुख केशव अधिकारीले बताए ।

जैविक फोहोरमा कमी ल्याउन कौसीखेतीलाई प्रवर्द्धन गर्दै तरकारीको बिउ र कम्पोस्ट मल वितरण गरिने महानगरले जनाएको छ । १ देखि २० नम्बर वडालाई सहरी खेती र २१ देखि २९ नम्बर वडालाई अर्धसहरी खेतीमा विभाजन गरी बिउ र मल वितरण गरिँदै छ । महानगरले रायो, मुला, बोडी, सिमी, फर्सीलगायत ६ किसिमका बिउ राखी एउटा प्याकेट तयार गर्नेछ, जसलाई कम्पोजिट किट भनिन्छ ।

सहरीखेतीमा परेको क्षेत्रलाई एक हजार प्याकेट कम्पोजिट किट र ५० बोरा कम्पोस्ट मल दिइने शाखाप्रमुख अधिकारीले बताए । ‘हामी वडालाई दिन्छौं,’ उनले भने, ‘वडाले कृषक पहिचान गरी वितरण गर्नेछ ।’

त्यस्तै अर्धसहरी क्षेत्रलाई प्रत्येक वडामा ३ सय कम्पोजिट किट, ३ सयदेखि ५ सय बोरा कम्पोस्ट मल दिने तयारी भइरहेको छ । ‘अर्धसहरी खेतीमा जग्गा हुन्छ, त्यहाँ असारे बाली लगाउन थप धान, अन्य बिउ तथा उपकरण वितरण गर्छौं,’ उनले भने ।

लकडाउनमा तरकारीकै लागि बाहिर निस्कने प्रवृत्ति र घरबाट निस्कने फोहोरमा कमी ल्याउन कौसीखेतीलाई जोड दिइएको अधिकारीले बताए । ‘लकडाउनको अवधिमा आयातित तरकारीमा भर पर्नु नपरोस् भनेर प्रोत्साहित गर्न लागेका हौं,’ उनले भने ।

गोदावरी र महालक्ष्मी नगरपालिकाले भने किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेको जनाएका छन् ।


प्रकाशित : जेष्ठ १२, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?