१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

संक्रमितका टोल कतै खुला, कतै सिल

कुनै ठाउँमा कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसक्दा पनि सिल यथावत् हुन्छ भने कतै कसैको परीक्षणसमेत नगरी खोल्ने गरिएको छ ।

काठमाडौँ — सुनसरीबाट काठमाडौं आएकी २५ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि भक्तपुरको थिमि, शंखधर चोकछेउका सात घर प्रशासनले ३१ वैशाखमा सिल गर्‍यो । १३ दिनपछि मात्रै आइतबार सिल खुल्यो ।

संक्रमितका टोल कतै खुला, कतै सिल

संक्रमित युवती चार दिनअघि जेठ ८ मै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भइसकेकी थिइन् । थिमिमा उनी बसेको घरवरिपरिका २५ जनाको रिपोर्ट पनि नेगेटिभ आइसकेको थियो । संक्रमित युवतीका साथी, परिवारका सदस्य र उनलाई काठमाडौं ल्याउने मोटरसाइकल चालकको रिपोर्ट पनि नेगेटिभ आइसकेको थियो । तर, पनि प्रशासनले सिल खुलाएको थिएन ।

भक्तपुर प्रशासनले ती युवती बसेको टोल र संक्रमित सशस्त्र प्रहरी जवान बसेको दुवाकोटमा आइतबार सिल खुलाएको हो । तर थप १४ दिन क्वारेन्टाइनमा बस्न उनीहरूलाई सचेत गराइएको छ ।

‘सबैको रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने हुन्छ,’ भक्तपुर प्रहरी प्रमुख सबिन प्रधानले भने, ‘सिल फुकुवा भएपछि पनि सचेतताका लागि एक साता क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौं ।’

वैशाख ६ गते महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) र प्रहरी जवानमा कोराना देखिएपछि प्रहरी कार्यालय नै सिल गरिएको छ । आइतबार बल्ल भित्र रहेका प्रहरीको स्वाब परीक्षणका लागि निकालिएको छ । सिल गरिएका ९ वटा प्रहरी युनिटमा करिब २ सय जना छन् । प्रहरी युनिटलाई जेठ ७ गते सिल गरेर आवतजावत बन्द गरिएको छ ।

तर, काठमाडौंका केही यस्ता ठाउँ पनि छन्, जहाँ संक्रमित बस्ने घरवरपर सिल गरिएको छैन । मैतीदेवीमा बुधबार रामेछाप स्थायी घर भएका एक पुरुष संक्रमित भेटिए । लगत्तै वरिपरिको क्षेत्र सिल गरिएको थियो । संक्रमित क्षेत्रमा कसैको पीसीआर वा आरडीटी कुनै विधिबाट परीक्षणसमेत नगरी शनिबार सिल खोलिएको छ । संक्रमित पुरुष बस्ने घरसँगै दूध डेरी, स्टेसनरी, फलफूल पसल छ । ‘कसैको पनि परीक्षण भएको छैन । स्वास्थ्यकर्मीले भनेपछि हामीले खोल्यौं,’ वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘बाहिर खुले पनि संक्रमित बस्ने घरमा सिल यथावत् छ ।’ संक्रमित बस्ने घरका मान्छेको पनि परीक्षण नगरी सिल खोलेको भन्दै टोलवासी त्रस्त छन् ।

त्यस्तै नवलपरासी स्थायी घर भई कलंकी बस्ने २४ वर्षीया युवती संक्रमित भेटिएकी थिइन् । उनी बस्ने घरमा पनि सिल गरिएको छैन । संक्रमित बस्ने घरका कसैको पनि परीक्षण भएको छैन । वैशाख २९ गते उनी काठमाडौं आएकी थिइन् । जेठ २ गते स्वाब दिएकी उनको जेठ ६ गते नतिजा पोजिटिभ आएको थियो । ‘घरमा बस्नेको अब १० दिनपछि स्वाब परीक्षण गरिनेछ,’ वडाध्यक्ष शोभा सापकोटाले भनिन् ।

कोभिड–१९ संक्रमण बढेसँगै उपत्यका पनि जोखिममा छ । संक्रमित भेटिएको स्थान सिल गर्ने र खोल्ने क्रम जारी छ । केही स्थानमा संक्रमित बसेको घर मात्रै र केही ठाउँमा दायाँबायाँका घरसमेत सिल गरिएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा हालसम्म पाँच संक्रमित भेटिएका छन् । संक्रमितहरू सशस्त्र अस्पताल बलम्बु, पाटन र टेकु अस्पतालमा उपचाररत छन् । संक्रमित बढेसँगै नगरपालिका नै एक साता सिल गरिएको थियो । त्यसपछि दैनिक ५ देखि १० बजेसम्म आवतजावत गर्न मिल्ने गरी खुलाइएको नगरप्रवक्ता हरिभक्त महर्जनले बताए । नगरपालिकाले स्वयंसेवी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र बाहिरी जिल्लाबाट आएका र कोरोना संक्रमितले भेटेका मानिसहरू गरी ५ सय ६० जनाको आरडीटी र पीसीआर परीक्षण गरिएको जनाएको छ । तीमध्ये ६५ जनाको आरडीटी पोजिटिभ आएकाले सबैलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको उनले बताए । उनका अनुसार १ सय ६ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । नगरले बजार खोल्दा पनि सामाजिक दूरी कायम गराउने र क्रेता तथा विक्रेता दुवैलाई मास्क र पन्जा अनिवार्य गरिएको उनले बताए ।

हुनुपर्ने के हो ?

संक्रमित भेटिएको ठाउँ सिल गर्ने विषयमा सरकारले ठोस निर्णय गरेको छैन । स्थानीय तह र प्रशासनले आफूखुसी निर्णय गर्ने गरेका छन् । कोरोना देखिएपछि धुलिखेलको आकस्मिक कक्ष, शिक्षण अस्पतालका दुईवटा विभागसमेत सिल गरिएको छ । ‘संक्रमित व्यक्तिले हाछ्युँ गर्दा र छोएको ठाउँबाट अर्को व्यक्तिमा सर्न सक्छ,’ डा. शेरबहादुर पुनले भने, ‘यस्तो ठाउँलाई डिसइन्फेक्टेड गरेर संक्रमितको रिपोर्ट आएपछि खुलाउन सकिन्छ ।’ कति र कहिलेसम्म सिल गर्ने भन्ने एकरूपता ल्याउन निर्णय हुन जरुरी रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालय, सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमित भेटिएको ठाउँमा कन्ट्याक्ट ट्रेसिङ गर्न सिल गर्न सकिने मापदण्ड रहेको बताए । संक्रमित व्यक्तिसँग घुलमिल भएका मानिसहरू अन्यसँग घुलमिल नगरून् तथा संक्रमण नफैलियोस् भन्नका लागि सिल गरिएको उनको भनाइ छ । ‘संक्रमितको केस डिटेल्सअनुसार सिल कति दिन गर्ने भन्ने तय हुन्छ । तर संक्रमितसँग नजिकिएका व्यक्तिहरूको परीक्षण गरी नतिजा आएपछि सिल खोल्न सकिन्छ,’ उनले भने, ‘थप अनावश्यक रूपमा सिल गरेर सर्वसाधारणलाई त्रस्त गर्न भने पाइँदैन ।’

प्रकाशित : जेष्ठ १२, २०७७ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?