कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पीसीआर परीक्षणको अनुमति दिन आलटाल

सबै प्रक्रिया पूरा गरेको अस्पतालको दाबी, ल्याब सञ्चालनको मापदण्ड पूरा नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भनाइ ।
लीला श्रेष्ठ

भक्तपुर — मध्यपुर थिमिले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा बुधबारसम्म ७ सय ४१ जनाको कोभिड–१९ परीक्षण भइसकेको छ । तर, सबै प्रक्रिया पूरा गरेको उक्त अस्पतालको ल्याब सञ्चालन अनुमतिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आलटाल गर्दै आएको छ ।

पीसीआर परीक्षणको अनुमति दिन आलटाल

शुक्रबार मात्रै अस्पतालमा २१ जना प्रदेश सांसदको परीक्षण गरियो ।

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना पुष्टिको लागि स्वाब निकाल्न हरेक व्यक्तिलाई एउटै पन्जा प्रयोग गरिन्छ । त्यस्तै घाँटीको मात्रै स्वाब निकाल्ने गरिन्छ । तर, कोरियनले भने नाक र घाँटी दुबैको स्वाब लिने गरेको छ । त्यस्तै पन्जा समेत हरेक व्यक्तिका लागि फरक प्रयोग गर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले उल्टै अस्पतालको ल्याबबाट ‘आरएनए भाइरल एक्स्ट्याक्सन किट्स’ अन्यत्र लगेर कोभिड–१९ परीक्षण गरिरहेको छ । वैशाख १ र १८ गते प्रयोगशालामा विशेषज्ञसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनबाट प्राप्त रायअनुसार नै अस्पतालले ल्याब सञ्चालन गर्दासमेत अनुमति दिन ढिलाइ गरेको हो ।

अस्पतालले विदेशबाट फर्किएका नागरिक, सम्भावित जोखिमका व्यक्तिहरू, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरूको कोरोना परीक्षण गरिरहेको छ । प्रक्रिया पूरा गरी ल्याब सञ्चालन स्वीकृतिका लागि पटक–पटक अनुगमन भए पनि विभिन्न बहाना बनाएर अनुमति दिन आलटाल गरिरहेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गराउन चाहनेको भीड छ, चाहेर पनि त्यहाँ परीक्षण गराउन सकिने अवस्था छैन,’ उनले भने, ‘सरकारले पर्याप्त किट्स र पीपीईसमेत दिन सकिरहेको छैन, यहाँ हामीले परीक्षण गराइरहेका छौं ।’

नगरले ल्याब सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च गरिसकेको छ । भक्तपुर अस्पताललाई हब अस्पताल तोके पनि कोभिड–१९ परीक्षण गर्ने सुविधा छैन । भक्तपुर अस्पतालले आरडीटी र ‘नेजल स्वाब’ को नमुना संकलन गर्ने कार्य गर्दै आएको छ । मध्यपुर थिमि नगरले दातृ संस्थासँगको समन्वयमा पीसीआर मेसिन जडान गरी आफ्नै खर्चमा कोभिड–१९ परीक्षणको सुविधा उपलब्ध गराएको नगर प्रमुख श्रेष्ठले बताए । अस्पताल प्रमुख डा.ज्ञानकृष्ण कायस्थका अनुसार यहाँ पोजिटिभ देखिएकाको पुनः परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाउने गरिएको छ । हालसम्म परीक्षण गरेको मध्ये कसैको पनि पोजिटिभ नदेखिएको उनले जनाए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले ल्याबको व्यवस्थापकीय सुधार गरेर मात्रै सञ्चालन गर्न सकिने बताइन् । ‘ल्याब सञ्चालनको मापदण्ड पूरा भएको छैन,’ उनले भनिन्, ‘बायोसेफ्टी ल्याबको फोहोर व्यवस्थापन मिलेको छैन ।’ आवश्यक प्रक्रिया पूरा भएपछि स्वीकृति दिन रोकावट नहुने उनले बताइन् ।

अस्पतालले कोरोनाको उपचारका लागि चार वटा भेन्टिलेटरसहितको ६ वटा आईसीयू र २० शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । अस्पतालमा २६ जना डाक्टर र पाँच कन्सल्टेन्टसहितका स्वास्थ्यकर्मीहरूको टोली २४ घण्टा अलर्ट राखिएको जनाइएको छ । अस्पतालका अनुसार मेसिनले एकैपटकमा ९६ जनासम्मको परीक्षण गर्न सकिन्छ । समूहमा परीक्षण गर्दा प्रतिव्यक्ति सरदर सातदेखि नौ हजार रुपैयाँसम्म खर्च हुन्छ । नगरपालिकाले त्यो खर्चको व्यवस्थापन गरेर निःशुल्क सुविधा दिएको नगर प्रमुख श्रेष्ठले बताए ।

दक्षिण कोरियाको क्योंही इन्टरनेसनल मेडिकल को–अपरेसनमार्फत सन् १९९९ मा स्थापना भएको ‘कोरिया नेपाल मैत्री स्वास्थ्य केन्द्र’ मध्यपुर थिमि नगरपालिकालाई हस्तान्तरणपछि ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ का रूपमा सञ्चालित छ । नगरपालिकाले कोभिड–१९ संक्रमित बिरामीलाई सुरक्षित तवरले अस्पताल ल्याउन अस्पतालको एम्बुलेन्सलाई विशेष रूपमा ‘मोडिफाई’ गरी तयार गरेको छ । उक्त एम्बुलेन्स चलाउने चालकलाई आवश्यक स्वास्थ्य अभिमुखीकरण गराएर स्वास्थ्य सुरक्षा सामग्री पीपीई, मास्क, पन्जा, डिस्इन्फेक्सन किट्स उपलब्ध गराएको जनाइएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?