संक्रमितका साथी पनि आइसोलेसनमा

भक्तपुर — मध्यपुर थिमि–४ शंखधर चोकस्थित कोठामा बस्दै आएकी स्टाफ नर्सकी साथीमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएपछि उनलाई पनि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानका अनुसार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्सको ‘नेजल स्वाब’को नमुना संकलन गरेर आइसोलेसनमा राखिएको हो । उनको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

प्रयोगशालाले मंगलबार ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत २५ वर्षीयामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो । कोरोना संक्रमितलाई मंगलबार नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी वैशाख २९ मा सुनसरी रामधुनी नगरपालिका झुम्काबाट मोटरसाइकलमा मध्यपुर थिमि आइपुगेकी हुन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कोरोना संक्रमितको सम्पर्कमा आएकी स्टाफ नर्स वैशाख २६ गतेबाट अस्पतालमा उपस्थित नभएको भन्दै सूचना प्रकाशित गरेको छ । केन्द्रले अस्पतालमा कार्यरत कुनै कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि नभएको समेत जनाएको छ ।

रामेछाप घर भई चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २७ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएपछि उनी बसेको क्षेत्रमा पनि प्रहरीले सिल गरेको छ ।

प्रकाशित : वैशाख ३१, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?