२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चन्द्रागिरिमा राहतको सट्टा रोजगारी

सीमा तामाङ

काठमाडौँ — चन्द्रागिरि नगरपालिकाले नगरभित्रका ज्याला–मजदुरी गरेर निर्वाह गर्दै आएका परिवारलाई रोजगारी दिएको छ । वडा नम्बर ६, ११ र १५ ले राहत वितरण रोक्दै महिनाको १० दिन काममा लगाई पारिश्रमिक दिने निर्णय नै गरिसकेका छन् ।

चन्द्रागिरिमा राहतको सट्टा रोजगारी

लकडाउनमा आय आर्जन नहुँदा छाक टार्न समस्या भएकालाई परिवारका एक जनाका दरले काममा लगाइने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए ।

सामाजिक दूरी कायम गरी कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका काम नियमित गर्ने सरकारको निर्णयसँगै रोजगारी अभियान सुरु गरिएको उनले जानकारी दिए । ‘मेरो ११ नम्बर वडामा मात्र दैनिक ५० जनाले काम गरिरहेका छन्,’ उनले भने, ‘नगरपालिकाले सबै वडालाई निर्देशन दिइसकेको छ, नगरभरि कति मजदुरले काम गर्छन् भन्ने तथ्यांक आइसकेको छैन ।’ मजदुरहरूलाई सडक, पर्खाल बनाउने, ढलान गर्ने, डिप बोरिङ गर्नेलगायत काममा लगाइएको छ । ‘१० देखि १२ जनाको समूह बनाएर छुट्टाछुट्टै काममा लगाएका छौं,’ उनले भने, ‘काम गर्दा सामाजिक दुरी कायम गराई मजदुरलाई मास्क, स्यानिटाइजर, पन्जा पनि दिएका छौं ।’

वडा नम्बर १५ का अध्यक्ष उत्तमबहादुर राउत मजदुरलाई राहतभन्दा रोजगारी दिए सम्मान हुने बताउँछन् । ‘राहत र सामूहिक मेसबाट खाना वितरण गर्दा कोरोना संक्रमण फैलन सक्छ,’ उनले भने, ‘त्यस कारण रोजगारी दिँदा उनीहरूको आत्मसम्मान पनि रहन्छ, आफ्नै कमाइले गुजारा पनि चल्छ ।’

उपत्यका नगरपालिका फोरमले पनि लकडाउन पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोडेर अर्थतन्त्र चलायमान् बनाउने निर्णय गरेको छ । फोरम उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था हो । अहिलेको विषम परिस्थितिमा उपत्यकाभित्र कसैलाई भोको रहन नदिन जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्ने निर्णय भएको फोरमका अध्यक्ष तथा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । ‘पछिल्लो समय लकडाउन केही खुकुलो बनाउने निर्णय भएको छ । यस्तो अवस्थामा पहिलाजस्तो राहत वितरणलाई रोक लगाई रोजगारीलाई जोड दिनुपर्छ,’ उनले भने ।


प्रकाशित : वैशाख ३०, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?