१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

परालबाटै जुत्तादेखि बुट्टेदार झ्यालसम्म

कोभिडको जोखिम कम भएपछि विदेश निर्यात हुने आसले परालकै टेबुल, सोफा, डोर म्याट, गिफ्ट आइटम तयार भइरहेको छ । नेवारी शैलीका झ्याल पनि परालबाटै बनिरहेका छन् ।
प्रशान्त माली

ललितपुर — ललितपुर हरिसिद्धिकी ४९ वर्षीया दिलकुमारी महर्जन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) खुमलटारमा घाँस काट्ने र आलुलगायत तरकारी बारी स्याहार्ने काम गर्थिन् । लकडाउनका कारण सबै काम ठप्प भएपछि उनी कामविहीन बनिन् । यहीबीच उनले छिमेकीसँग परालबाट जुत्ता बनाउन सिकिन् । अहिले दैनिक ५ जोर जुत्ता बुन्न सक्ने भएकी छन् ।

परालबाटै जुत्तादेखि बुट्टेदार झ्यालसम्म

हरिसिद्धिकै ६२ वर्षीया नन्दकुमारी महर्जन र चिरङदेवी महर्जन पनि नार्कमै दैनिक ज्यालादारीमा काम गर्थे । सहकर्मीले परालबाट जुत्ता बुन्न सिकेको देखेर उनीहरुले पनि त्यही काममा हात बसाए । ‘नार्कमा काम गर्दा दैनिक ५ सय १७ रुपैयाँ ज्याला दिन्थ्यो । साताको शुक्रबार र शनिबार बिदा हुन्थ्यो,' चिरङदेवीले भनिन्, 'अहिले एउटा जुत्ता बुनेबापत ९५ देखि एक सय २० रुपैयाँसम्म आउछ । दैनिक ५ जोरसम्म बुन्न सकिन्छ ।’

हरिसिद्धिकै कुष्णकुमारी महर्जन भने गृहिणी हुन् । उनीचाहिँ सुकुल बुन्नमा व्यस्त छिन् ।

‘परालका विभिन्न सामान सिद्धिपुरका स्थानीयले संकलन गर्थे,’ हरिसिद्धि साफल टोलस्थित घरमा जुत्ता बुन्दै गरेको अवस्थामा भेटिएका दश महर्जन भन्छन्, ‘पशुपतिमा किरिया बस्नेहरुका लागि जान्थ्यो । अहिले त संकलन गर्ने आउनेहरु पनि लकडाउनले रोकिएका छन् ।

परालका सामान उत्पादनसम्बन्धी तालिम दिने सिद्धिपुरका प्रशिक्षक रामचन्द्र महर्जनका अनुसार कोभिड–१९ को महामारीका कारण जापान, जर्मनीलगायत मुलुकबाट आउने अर्डर पनि ठप्प भएको छ । ‘पोखराको लेकसाइडको लेमन ट्रि होटेलबाट आउने अर्डर पनि बन्द भयो’, उनले भने ।

अर्डरका सामान बनाइँदै

सिद्धिपुरका ५० वर्षीया तारा महर्जन र प्रेममाया महर्जनलाई अहिले कामको खाँचो छैन । लकडाउनअघि कीर्तिपुरस्थित ससः रेस्टुरेन्टबाट आएको अर्डरअनुसार सुकुल बुन्दैमा दिन बित्ने गरेको छ । उनीहरुले बुनिरहेको सुकुल आधुनिक डिजाइनका छन् ।

अर्डरअनुसारको सुकुल बुन्न उनीहरुले एक महिना तालिम लिएका थिए । ‘सामान्यतया एउटा सुकुल बुन्न ५/६ दिन लाग्छ,’ प्रेममायाले भनिन्, ‘ठूलो आकारको बुन्न त झन्डै दुई साता लाग्छ ।’

सुकुलको प्रति स्क्वयार फिट ९० रुपैयाँ लिने गरेका छन् । ७/८ फिटको सुकुलको मूल्य साढे ५ हजारभन्दा बढी पर्छ । अर्डर भएमा घरको काम भ्याएर पनि मासिक २० देखि २५ हजारसम्म कमाउन सकिने उनीहरुले बताए ।

सिद्धिपुरवासीको पुख्यौली पेसा सुकुल बुन्नु हो । ४६ वर्षीया पूर्णदेवी महर्जनले त सानोगाउँकै धर्म महर्जनको अर्डरअनुसार ९ वटा सुकुल बुनिसकिन् । इँटाभट्टाको सिजनमा धेरै बिक्री हुने उनले सुनाइन् ।

प्रशिक्षक रामचन्द्र महर्जनको सुकुल गोदाम छ । कोभिडको जोखिम कम भएपछि विदेश निर्यात हुने आसले परालबाट बनेका टेबुल, सोफा, डोर, टेबुल म्याट, गिफ्ट आइटम तयार गर्न लगाइएको उनले बताए । सजावटका सामान पेन होल्डर, जुत्ता, चकटी, नेवारी वास्तुकला शैलीका झ्याल पनि परालबाटै बनिरहेका छन् । ‘अहिले निरन्तर परालका सामान उत्पादनमा १६ जना खटिएका छन्,’ उनले भने ।

पहिला खेतबाट पराल जस्तो ल्याइन्थ्यो, त्यस्तै प्रयोग गरिन्थ्यो । महर्जनका अनुसार सुरुमा पराललाई शर्फपानीले पखालेर सफा पारिन्छ । ढुसी र किरा लाग्न नदिन फिटकिरी मिसाइन्छ । सुकुलबाट धुलो नझरोस् भनेर परालको टुप्पो काटिन्छ र सामान बनाउनका लागि तयार पारिन्छ ।

प्रकाशित : वैशाख २१, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?