१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लकडाउनको मौका छोपेर चोरी

प्रशान्त माली

काठमाडौँ — लकडाउनको मौका छोपेर कीर्तिपुरको कस्मेटिक पसलमा चोरी भएको छ । बाघभैरव मन्दिर क्षेत्रमा रहेको पसलमा सोमबार राति चोरी भएको हो । सँगै रहेको अर्को किराना पसलमा चोरी प्रयास भएको छ । स्थानीय शोभा महर्जनले बिहान पसल खुलै देखेपछि कीर्तिपुर नगरपालिका–१ इँटा छेँ टोलमा बस्ने पसल सञ्चालक बुद्ध महर्जनलाई खबर गरेकी थिइन् ।

लकडाउनको मौका छोपेर चोरी

पसलबाट रिचार्ज कार्ड, जुत्ता, परफ्युम गरेर करिब २० हजार रुपैयाँबराबरको सामान चोरी भएको छ । महर्जनको पसलसँगै अन्य ४ वटा कबल जोडिएका छन् । बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिले भाडामा लगाएका कबलमा किराना, चिया, मासु र कस्मेटिक पसल सञ्चालनमा छन् । किराना पसलमा पनि ताल्चा फोडिएको छ । पसल सञ्चालक महर्जनका अनुसार चोरहरू पाँचैवटा पसलमा चोरी गर्ने नियतले आएको देखिन्छ ।

‘किराना पसलमा भित्रबाट अर्को लक भएकाले चोरी गर्न सकेनन् । अनि मेरो पसल फोडेका हुन्,’ उनले भने, ‘कोर बस्तीभित्रको हालत यस्तो छ । अन्य ठाउँको कस्तो होला ।’ उनले यो घटनालाई सामान्य लिन नहुने बताए । ‘घरभित्र घटना भएको भए दुर्घटना पनि हुन बेर छैन,’ उनले भने, ‘सुरक्षा निकायले लकडाउनको कार्यान्वयनसँगै यस्तो घटना दोहोरिन नदिन ध्यान दिनुपर्‍यो ।’ केही दिनअघि कीर्तिपुर नगरपालिका–३ छ्वास टोलमा पनि झ्यालबाट चढेर चोरी प्रयास भएको थियो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले चोरीका थप घटना हुन नदिन राति गस्ती बढाएको बताए । ‘घटनाको प्रकृति हेर्दा पेसेवर चोरी गर्ने समूह जस्तो देखिँदैन । लागूपदार्थ सेवकहरू जस्तो देखिन्छ,’ उनले भने, ‘चोरी गर्नेको खोजीनीति भइरहेको छ ।’

त्यस्तै केही दिनअघि काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सरिता कस्मेटिक पसलमा चोरी भएको थियो । पसलमा रडले ताल्चा फोरेर कस्मेटिक सामान, गहना र २३ हजार नगद चोरी भएको थियो । त्यसअघि राति पेप्सीकोला क्षेत्रकै मुडफेस पान पसलमा पनि चोरी भयो । पेप्सीकोलामा मात्रै लकडाउनयता ३ वटा पसल फोरिए भने अब्दुल सिलाइ मेसिनवालाका पसलको सटर फोर्ने प्रयत्न भयो ।

अन्य केही पसलमा पनि चोरीको प्रयास बढेको भन्दै त्यहाँका व्यवसायी मिलेर काँडाघारी प्रहरी प्रभागमा शान्तिसुरक्षाको व्यवस्था मिलाउन माग गर्दै निवेदन दिएका थिए । काँडाघारी प्रहरी प्रभागका प्रहरी निरीक्षक रूपेन्द्रनारायण श्रेष्ठले चोरीका घटनामा संलग्न व्यक्तिहरूको खोजीनीति भइरहेको बताए । ‘यस घटनाबाट पाठ सिकेर सतर्कता पनि अपनाएका छौं,’ उनले भने, ‘थप चोरीका घटना हुन नदिन विशेष रणनीति बनाएर काम थालेका छौं ।’

लकडाउनको मौका छोपेर चैतमा कपनको तेन्जिङ चोकमा चन्द्रा खाजा घरमा चोरी भएको थियो । चन्द्रा तामाङले सञ्चालन गरेको उक्त खाजा घरबाट २० हजार रुपैयाँबराबरको रक्सीलगायतका सामान चोरी भएको थियो । सोही राति कपन मिलनचोकमा रहेको एउटा म:म: र टेलरिङ पसल पनि चोरी भयो । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले प्रहरीले लकडाउनका बेला घरबाहिर आउन नदिनेसँगै बढी आपराधिक गतिविधि हुने स्थानमा विशेष टोली बनाएर सुरक्षा व्यवस्था मिलाउँदै आएको बताए । ‘प्राय: घरमै हुने भएकाले अरू बेलाजस्तो यो समयमा त्यति चोरीका घटना घटेका छैनन्,’ उनले भने, ‘घर, पसल, डेरा छाडेर जानेहरूले प्रहरीलाई जानकारी गराएर जान अनुरोध गर्दछु ।’

प्रकाशित : वैशाख ९, २०७७ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?