कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन उल्लंघन गर्ने एक हजार ८०० लाई कारवाही

रासस

काठमाडौँ — काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४५२ महिलासहित  एक हजार ८०७  जनालाई आइतबार कारवाही गरिएको छ । आइतबार दिनभर  २४० दुईपाङ्ग्रे र नौ चारपाङ्ग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

लकडाउन उल्लंघन गर्ने एक हजार ८०० लाई कारवाही

काठमाडौंबाट एक हजार ३८६, ललितपुरबाट २२४ र भक्तपुरबाट १७८ जनालाई नियन्त्रणमा लिएको हो । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।


कोषमा राहत जम्मा गर्न कीर्तिपुरको आह्वान

काठमाडौँको कीर्तिपुर नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका व्यक्तिलाई राहत दिन आइतबार ५० लाखको राहत कोष स्थापना गरेको छ । यहाँका दैनिक ज्यालामा काम गर्ने श्रमिक तथा स्थानीयवासीलाई दैनिक जीवनयापनमा सहज पार्न नेपाल सरकारको योजनाअनुसार नगरपालिकाले कोष स्थापना गरेको हो ।


नेपाल सरकारले कोही पनि भोको नहोस् भन्ने अपेक्षासहित राहतको कार्यक्रम घोषणा गरिसकेको सन्दर्भमा उक्त कोषमार्फत आवश्यक पर्ने परिवारलाई खाद्यान्न र राहतको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । कोषमा जम्मा हुने रकमको खर्च गर्ने कार्यविधि तयार भइरहेको नगरपालिका प्रमुख रमेश महर्जनले जानकारी दिए । उक्त कोषमा सहयोग गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्था, गैरआवासीय नेपाली, स्वदेशी विदेशी दाता, निकाय, उद्योग व्यवसायी, पेशाकर्मी, नागरिक समाजलगायत सबैमा नगरपालिकाले अपिल गरेको छ ।


विश्वव्यापी विपत्तिको यस घडीमा आर्थिक र नगद सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संस्थाले नगरपालिकाका नाममा राष्ट्रिय वाणिज्य बैंक, कीर्तिपुर शाखाको खाता नं १७००३०४०३८३०३ मा नगद जम्मा गर्न र खाद्यलगायत सामग्री सहयोग गर्न चाहनेले नगरपालिकाको विपद् व्यवस्थापन शाखामा सम्पर्क गर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?