कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्डोनेसियन नागरिक गोदावरी ल्याइएकोमा विरोध

प्रशान्त माली

काठमाडौँ — प्रहरीले ललितपुरको इमाडोलबाट बिनाजानकारी १३ इन्डोनेसियन नागरिकलाई टौखेलस्थित गोदावरी भिलेज रिसोर्टमा ल्याइएको भन्दै स्थानीयले  विरोध जनाएका छन् । 

गोदावरीवासीले आफूहरुसँग सल्लाह नगरी ल्याएका विदेशी नागरिक कुनै पनि हालतमा रिसोर्टमा राख्न नदिने बताएका छन् । गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले नगरपालिकाबाट तत्काल फिर्ता लैजान अनुरोध गरिन् । ‘लकडाउनको अवस्थामा हामीसँग एक वचन पनि सल्लाह नगरी ल्याइएकोमा दु:ख लागेको छ,’ उनले भनिन् ।


स्थानीय युवराज घिमिरेले जबरजस्ती राख्न खोजेमा कुनै पनि दुर्घटना हुन सक्ने चेतावनी दिए । ‘हामीले छिटो सरकारले तोकेको क्‍वारेन्टाइनमा राख्न लैजान भनेका छौं,’ उनले भने । इन्डोनेसियन नागरिक सप्तरीबाट बुधबार इमाडोलस्थित एक मस्जिदमा आइपुगेका थिए । विदेशी नागरिक आएर बसेको थाह पाएपछि महालक्ष्मीका स्थानीयवासीले विरोध जनाएपछि बिहीबार दिउँसो गोदावरी ल्याइएको हो ।


गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले अन्यत्र लैजाने बारेमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको बताए । महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार मुस्लिम धार्मिक समूहका उनीहरु इन्डोनेसियाबाट माघ ७ गते सप्तरीमा भएको धार्मिकसभामा सहभागी हुन नेपाल आएका थिए । जावलाखेलका एसएसपी टेकबहादुर राईले सुरुमा उनीहरु राजधानीको घण्टाघरस्थित जामे मस्जितमा दुई दिन बसेको बताए । ‘त्यहाँबाट सप्तरी कञ्चनपुरस्थित मस्जिदमा पुगेका थिए,’ उनले भने, ‘त्यहाँबाट बुधबार बिहान राजधानी आएर बालाजुस्थित मस्जिदमा बस्न खोजेपछि त्यहााका स्थानीयको विरोध जनाएका थिए । त्यसपछि इमाडोलमा ल्याइएको थियो ।’


मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले यो बेला कुनै पनि विदेशी नागरिक मस्जिदमा बस्न उपयुक्त नहुने भएकाले गोदावरीस्थित क्‍वारेन्टाइनमा पठाइएको बताए ।


महालक्ष्मी नगरपालिकाकाले भने यसबारे सत्यतथ्य छानबिन गरी दोषमाथि कारबाही गर्न माग गरेको छ । महालक्ष्मीका मेयर रामेश्वर श्रेष्ठले बिनाजानकारी नगरपालिकास्थित मस्जिदमा आएकालाई फिर्ता पठाएको बताए ।

प्रकाशित : चैत्र २०, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?